काठमाण्डौ । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्तिमाथि भइरहेको जाँचबुझ नरोकिने स्पष्ट पारेको छ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको आदेश निश्चित पदाधिकारीको हकमा मात्रै लागू हुने जनाएको हो। अदालतको आदेशअनुसार बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीको सम्पत्ति जाँचबुझ प्रक्रिया मात्रै हाललाई स्थगित गरिएको आयोगले उल्लेख गरेको छ।
अन्य सार्वजनिक पदाधिकारी, पूर्वपदाधिकारी तथा छानबिनको दायरामा रहेका व्यक्तिको सम्पत्ति विवरणमाथिको अध्ययन र अनुसन्धान भने नियमित रूपमा जारी रहने आयोगको भनाइ छ।
अदालतको आदेशपछि सम्पूर्ण सम्पत्ति छानबिन प्रक्रिया रोकिएको भन्ने बुझाइ उत्पन्न भएपछि आयोगले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो।
आयोगले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै त्यसको दायराभित्र रहेका व्यक्तिको जाँचबुझ स्थगित गरिएको तर आदेशले नसमेटेका व्यक्तिमाथिको अनुसन्धान निरन्तर अघि बढ्ने जनाएको छ।

