काठमाण्डौ । विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा सार्वजनिक स्थानमा सोमबार शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको विषय प्रतिनिधिसभामा उठेको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले सञ्चारमाध्यम र सार्वजनिक क्षेत्रमा सवारीसाधन तेर्स्याएर मानसिक त्रास सिर्जना गरिएको बताए।
उनले उक्त गतिविधिले पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको आतंकको स्मरण गराएको टिप्पणी गरे। सञ्चारमाध्यमलाई त्रसित बनाउने उद्देश्यले यस्ता गतिविधि गरिएको भए त्यसको निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ थियो।
नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले पनि सरकारको संरक्षणमा जथाभावी पार्किङ गरिएको आरोप लगाए। जथाभावी पार्किङका कारण न्यूरोड क्षेत्रसमेत अस्तव्यस्त बनेको भन्दै उनले विरोध जनाए।
मल्लले नियम उल्लंघन गरी पार्किङ गरिएका सवारीसाधनलाई पाँच सय रुपैयाँको सामान्य चिट काटेर छाडिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले त्रास फैलाउने गरी पार्किङ गरिएका सवारीसाधनमाथि एक लाख रुपैयाँ जरिवाना गर्नुका साथै गाडी नै जफत गर्नुपर्ने माग गरे।

