काठमाण्डौ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मुलुक गम्भीर संकटमा परेको र नागरिकमा निराशा बढिरहेको भन्दै राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई एकताबद्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। दलहरूबीच साझा राष्ट्रिय मुद्दा तय गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौँ र राष्ट्रिय मुद्दा तय गरौँ,’ उनले भने, ‘हामी सबै मिल्यौँ भने मात्रै यो राज्य र लोकतन्त्र जोगिन सक्छ।’
संसद्लाई राजनीतिक घोचपेच र आरोप–प्रत्यारोपको थलो नबनाउन आग्रह गर्दै सिंहले राज्य र जनता रहेमात्र राजनीतिक गतिविधि सम्भव हुने बताए।
‘आज हाम्रो राज्य संकटमा छ। नागरिकमा निराशा छ। यो देशमा बाँच्न र केही गर्न सकिँदैन भन्ने भाष्य संसद्बाट निर्माण नगरौँ,’ उनले भने, ‘राज्य र जनता रहे फेरि राजनीति गरौँला। जनता र लोकतन्त्र नै समाप्त भए हामी कोही पनि रहनेछैनौँ।’
सिंहले देश संकटमा रहेका बेला दलहरूले नागरिकलाई थप निराश बनाउने अभिव्यक्ति र गतिविधि गर्न नहुने बताए। उनले जनतामा आशा र विश्वास जगाउने गरी संसद् तथा सरकारले काम गर्नुपर्नेमा जोड दिए।
बैठकमा उनले यसै साता आत्मदाहको प्रयासपछि ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरे।

