काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमका प्रवेशद्वार अवरुद्ध हुने गरी गाडी पार्किङ गरिएको घटना अस्वाभाविक र शंकास्पद देखिएको बताएका छन्। घटनामा आफ्नै पार्टीका नेता–कार्यकर्ता संलग्न भएको पुष्टि भए पनि कारबाही हुनुपर्ने उनको भनाइ छ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताए।
‘पार्टीले विज्ञप्तिमार्फत यो कार्य गलत भएको स्पष्ट पारिसकेको छ,’ उनले भने, ‘यस विषयमा छानबिन हुनुपर्छ र संलग्न व्यक्तिमाथि कारबाही हुनुपर्छ भन्ने अडानमा हामी कायम छौँ।’
तत्काल ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लियो वा छाड्यो भन्ने विषय अलग भए पनि समग्र घटना सामान्य नभएको उनको भनाइ छ।
‘तत्काल कसलाई समातियो, छाडियो वा मुद्दा चल्यो कि चलेन भन्ने बेग्लै विषय हो,’ लामिछानेले भने, ‘तर जुन प्रकारको गतिविधि देखियो, त्यो स्वाभाविक थिएन। त्यसैले पार्टीले गम्भीरतापूर्वक विज्ञप्ति जारी गरेको हो।’
सञ्चारकर्मीले घटनामा रास्वपाकै कार्यकर्ता संलग्न भएको पाइए कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थिए।
जवाफमा लामिछानेले भने, ‘किन हुँदैन? जोसुकै भए पनि कारबाही हुन्छ। रास्वपा आफ्नो सांसदलाई समेत ७२ घण्टाभित्र कारबाही गरेको पार्टी हो। पार्टीसँग जोडिएको व्यक्ति हुँदैमा उन्मुक्ति पाउने भन्ने हुँदैन।’
काठमाडौंका विभिन्न सञ्चारगृहका प्रवेशद्वार आसपास शंकास्पद रूपमा गाडी पार्किङ गरिएको विषय सार्वजनिक भएपछि त्यसलाई प्रेस तथा सञ्चारमाध्यमको काममा अवरोध सिर्जना गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।
सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहसँगको पछिल्लो भेटमा सुकुमवासी समस्या समाधानका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी पनि दिए।
‘सुकुमवासी समस्या समाधानलाई प्रभावकारी बनाउने विषयमा विशेष छलफल भयो,’ उनले भने, ‘राष्ट्रिय राजनीति र आगामी परिस्थितिबारे पनि परिणाममुखी संवाद गरेका छौँ।’

