काठमाण्डौ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
बुधबार बसेको प्रदेश सभा बैठकले अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको विनियोजन विधेयकसहितको बजेट सर्वसम्मतिले पारित गरेको हो।
अर्थमन्त्री भट्टराईले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए।
बजेटमा त्रुटि र असन्तुलन रहेको भन्दै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूले संशोधनको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए। विपक्षी दलहरूले बजेट संशोधन गर्नुपर्ने वा विवाद समाधानका लागि संसदीय कार्यदल गठन गर्नुपर्ने अडान राखेका थिए।
लगातारको अवरोधपछि प्रदेश सभाले असार २८ गते बजेटसम्बन्धी विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलले विभिन्न पक्षसँग छलफल गरी तयार पारेको १० बुँदे प्रतिवेदन मंगलबार प्रदेश सभामा पेस गरेको थियो। कार्यदलको प्रतिवेदनमा समेटिएका विषयलाई बजेटको अभिन्न अङ्ग बनाउने सहमति भएपछि बजेट पारित गर्ने वातावरण बनेको हो।
यससँगै लामो समयदेखि जारी बजेट विवाद समाधान भएको छ भने मधेश सरकारलाई नयाँ आर्थिक वर्षदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ।

