मंगलवार, श्रावण ५,२०८३ 12:55:35
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 12:55:35
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरोः नयाँ आर्थिक वर्षसँगै ब्रोकरमा फर्कियो उत्साह, लगानीकर्ताको नजर २८ सय विन्दुमाथि

ग्राउण्ड जिरोः नयाँ आर्थिक वर्षसँगै ब्रोकरमा फर्कियो उत्साह, लगानीकर्ताको नजर २८ सय विन्दुमाथि
New Office

काठमाण्डौ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सेयरबजारले गति लिन थालेको छ । यसअघि घटेर तल्लो विन्दुमा पुगिसकेको पूँजीबजार नयाँ आवको आगमनसँगै उकासिन थालेको छ ।

विशेषगरी नयाँ सरकारप्रति लगानीकर्ताको अविश्वास र असार मसान्तको दबाबले बजारलाई प्रत्यक्ष प्रभाव पारेको थियो । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपछि पनि सेयरबजारले लय लिन नसकिरहेको अवस्था थियो ।

बजारको अवस्थाले निरुत्साहित बनेका सेयर लगानीकर्ताहरु नयाँ आव सुरुभएसँगै उत्साहित बनेका छन् । ब्रोकर हाउसहरुमा लगानीकर्ताको सहभागिता पुनः बाक्लो देखिन थालेको छ । असार मसान्तको दबाब सकिनु र सिजनल अनुसार पनि यतिबेला बजारमा लगानी गर्ने अवधि मानिन्छ ।

बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार बानेश्वर र अनामनगरका ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरिएको थियो । अवलोकनका क्रममा अधिकांश लगानीकर्ताहरु उत्साहित देखिन्छन् । लगानीकर्ताको मनोभाव बुझ्दा कन्फिडेन्ट बढ्न थालेको बुझिन्छ ।

बानेश्वरमा सरकार र बजारबारे फरक–फरक धारणा

सर्वप्रथम हामी बानेश्वरमा रहेको नागरिक स्टक डिलर पुग्यौं । सुरुवातमा नेप्से सामान्य अंकले घटेपनि आधा घण्टाजस्तो पनि बजार फर्किन थाल्यो । बजारले विस्तारै पिक–अप लिइरहेको थियो । लगानीकर्ताहरुको सहभागिता पनि विस्तारै बाक्लो हुँदै गयो ।

सबैजना आ–आफ्नो स्क्रिप्ट हेर्न व्यस्त थिए । एकजना महिला लगानीकर्ता भने सरकारको गतिविधिप्रति असन्तुष्ट व्यक्त गर्दै थिइन् । उनले भनिन्, ‘यत्रो दिन बजार घट्नुको कारण अहिलेको सरकारको गतिविधिले गर्दा हो, बिनाप्रमाण व्यवसायी र लगानीकर्तालाई पक्राउ गरेर थुन्यो त्यसकै परिणामस्वरुप सेयरबजारमा क्र्यास देखियो र सरकारलाई समेत राजश्वमा घाटा लाग्यो ।’

उनको कुरालाई समर्थन गर्दै अर्का लगानीकर्ताले थपे, ‘हो नि अब त्यसरी भट्टाभट थुनेपछि अरु लगानीकर्ता यत्तिकै पनि हतोत्साहित बन्छन्, अब अहिले बजारमा लगानी गर्ने ठूला लगानीकर्ता नै छैनन् अनि कसरी बढ्छ त मार्केटमा भोल्युम । कारोबार रकम नबढ्दासम्म बजार सस्टेन हुन गाह्रै पर्छ ।’

अर्का एकजना लगानीकर्ता भने नयाँ कम्पनीहरु (जेनजी स्टक)मा आँखा लगाउँदै थिए । उनले एसवाई प्यानल र श्रीनगर एग्रिटेक जस्ता नयाँ कम्पनीमा लगानी गर्न अर्का लगानीकर्तालाई सुझाव दिदैं थिए ।

सोही ब्रोकरको बाहिर बसेका केही थान लगानीकर्ता भने समग्र राजनीतिक विषयसँग पूँजीबजारलाई जोडेर गफ गरिरहेका थिए । एकजना लगानीकर्ताले आक्रोशित मुडमा भने, ‘बालेनलाई नै प्रधानमन्त्री पदबाट हटाउनुपर्छ, रास्पाकै सरकार आएपछि पूँजीबजार ध्वस्त भयो ।’

अर्का लगानीकर्ता भने उनको कुरामा असमर्थन जनाउँदै भने, ‘होइन अहिले प्रधानमन्त्रीले मन जित्नुभएको छ, आज पनि पूँजीबजार सुधारको लागि विभिन्न नियामक निकायहरुसँग छलफल गर्न लाग्नुभएको छ, यत्ति धेरै आलोचित पनि नभईहालौं ।’

अनामनगरमा बजार २७५० पुग्नेमा विश्वस्त

अनामनगरमा रहेको इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं.४५)मा पनि लगानीकर्ताहरु पूँजीबजारप्रति उत्साहित थिए । नेप्से इन्डेक्स ३० अंक भन्दा माथि पुगिसकेको थियो ।

एकजना लगानीकर्ताले बजार लो विन्दुबाट माथि आइसकेको बताए । ‘बजार घटेर धेरै तल आइसकेको थियो अब लो विन्दुबाट माथि आइसकेको छ, विस्तारै बढेर बजार २७५० माथि पुग्न सक्छ’ ती लगानीकर्ताले भने, ‘अब सूचीकृत कम्पनीहरुको पनि डाटा आउने बेला भयो, कम्पनीहरुको वित्तीय अवस्था र लाभांशको क्षमता पनि देखिन्छ, बजार अब विस्तारै बढ्ला ।’

अर्का लगानीकर्ता भने जेनजी स्टकहरु अपेक्षा गरेअनुसार नबढेकोमा चिन्ता व्यक्त गर्दै थिए । उनले भने, ‘बजार त बढ्यो तर यो जेजनी स्टकहरु भनेजस्तो बढ्नै सकेन, आफ्नो लगानी मात्रै उठ्ने भएपनि बेचिदिन्थे ।’

आर्यतारामा १० कित्ते नीति हटाउन माग

अन्तिममा हामी अनामनगरमै रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)मा पुग्यौं । उक्त ब्रोकर हाउसमा पनि लगानीकर्ताको उपस्थिति बाक्लै थियो । बजारमा हरियाली कायमै थियो, लगानीकर्ता पनि उत्साहित देखिन्थे ।

एकजना लगानीकर्ता भने अब बजार बढेर २८ सय माथि पुग्ने आशा व्यक्त गर्दै थिए । ‘विस्तारै माहोल बन्दै छ, सिजन पनि भयो अब त बजार २८ सय माथि जाला नि’ उनले भने, ‘सरकार र सम्बन्धित निकायको नीतिगत स्पष्टता पनि आइसकेको छ, अब त बजार कसो नबढ्ला र !’

अर्का लगानीकर्ताले उनको कुरा सकिन नपाउँदै भने, ‘२८ सय माथि नै पुगेपनि हाम्रो लगानी उठ्न पर्यो, बजार ३ हजारको विन्दुमा हुँदा किनेको सेयरमा कति घाटा लागेको छ, अब बजार फेरी ३ हजार नै पुगेपनि लगानी नउठ्ने जस्तो अवस्था आइसक्यो’ उनले थपे, ‘यो सब जेनजी आन्दोलनपछि भएको अवस्था हो ।’

अर्को साइडमा बसेका लगानीकर्ताहरु पनि अब राम्रा कम्पनीलाई मात्रै आईपीओ निकाल्न स्वीकृति दिनुपर्ने र १० कित्ते नीति हटाउनुपर्ने तर्क गर्दै थिए ।

‘बजार घटाउन यो १० कित्ता नीतिको पनि ठूलो हात छ, बजारमा अत्यधिक सेलिङ प्रेसर देखाउने र मार्केट घटाउने यस्तै कारणले हो’ एकजना लगानीकर्ताले भने, ‘अब धितोपत्र बोर्डले १० कित्ता नीति पनि हटाउनुपर्छ र उल्लेख्य नाफा कमाएका वा ईपीएस र नेटवर्थ राम्रा भएका कम्पनीलाई मात्रै आईपीओ निष्कासन गर्न दिनुपर्छ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.