काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको डिजिटल पहलले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा आयोजित वेबसाइट तथा मोबाइल एप शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष अग्रवालले सुनचाँदी व्यवसाय केवल व्यापार मात्र नभई नेपालको इतिहास, संस्कृति, परम्परा, कला र सभ्यतासँग जोडिएको जीवन्त सम्पदा भएको उल्लेख गरे । उनले नेपाली कालिगढहरूको सीप, मौलिक कला र परम्परागत डिजाइनलाई आधुनिक प्रविधि, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके मेड इन नेपाल गहनाले विश्व बजारमा विशिष्ट पहिचान बनाउन सक्ने धारणा राखे ।
अध्यक्ष अग्रवालले विश्व बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा त्यसको सकारात्मक र नकारात्मक दुवै असर व्यवसायमा परेको बताए । सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत सुन, चाँदी तथा तिनबाट निर्मित गहनाको बिक्रीमा थप ०.५ प्रतिशत कर वृद्धि गरेको निर्णयले वैधानिक व्यवसायमा थप दबाब सिर्जना गर्ने भन्दै उनले करको दायरा विस्तार, प्रभावकारी कर प्रशासन तथा अवैध कारोबार नियन्त्रणमा जोड दिनुपर्ने बताए ।
उनले दक्ष कालिगढको अभाव, विदेश पलायन, सुरक्षा जोखिम तथा सुन तस्करीलाई पनि व्यवसायका प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै व्यवसायी, बैंक, बीमा कम्पनी तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्ने उल्लेख गर्दै नेपाल चेम्बर अफ कमर्स व्यवसायमैत्री नीति, स्थिर कर प्रणाली, कालिगढ संरक्षण तथा नेपाली हस्तकलाको प्रवद्र्धनका लागि निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको उनले बताए ।
सोही अवसरमा अध्यक्ष अग्रवालले महासंघको नयाँ वेबसाइट तथा मोबाइल एपको औपचारिक शुभारम्भ गरेका थिए ।
महासंघका अध्यक्ष किसान सुनारले परम्परागत सुनचाँदी व्यवसायलाई आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले वेबसाइट र मोबाइल एप सञ्चालनमा ल्याइएको बताए । उनले महासंघ, प्रदेश र जिल्ला संघलाई एउटै डिजिटल प्लेटफर्ममा आबद्ध गरी सदस्यहरूको विवरण, सूचना प्रवाह, प्रशासनिक कार्य तथा तथ्यांक व्यवस्थापनलाई प्रविधिमार्फत सहज बनाउने लक्ष्य राखिएको जानकारी दिए ।
उनका अनुसार नयाँ प्रणालीमार्फत प्रत्येक जिल्ला र प्रदेश संघको आफ्नै वेबसाइट सञ्चालन हुनेछ भने सदस्यता नवीकरण, परिचयपत्र, प्रमाणपत्र तथा अन्य प्रशासनिक सेवा डिजिटल माध्यमबाट उपलब्ध हुनेछन् । एसएमएसमार्फत सूचना पठाउँदा लाग्ने खर्चसमेत उल्लेखनीय रूपमा घट्ने उनले बताए ।
अध्यक्ष सुनारका अनुसार मोबाइल एपमार्फत सदस्यहरूले किन्ने वा बेच्ने सामान तथा सेवाको विवरण पोस्ट गर्न, व्यवसायीबीच प्रत्यक्ष व्यापारिक सम्पर्क स्थापित गर्न, सुन, चाँदी तथा अमेरिकी डलरको विगतका मूल्यहरूको विश्लेषण गर्न तथा केही सेकेन्डमै अनुमानित बिल तयार गरी ग्राहकको व्हाट्सएपमा पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ ।
महासंघले यो डिजिटल प्लेटफर्मले सदस्य सेवा, बजार सूचना, व्यवसायिक पारदर्शिता, व्यापार प्रवद्र्धन तथा नेपाली सुनचाँदी उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

