काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले लामो समयदेखि बन्द रहेको टेकुस्थित फोहोरबाट ऊर्जा उत्पादन परियोजनालाई पुनः सञ्चालनमा ल्याउने तयारी थालेको छ। फोहोर व्यवस्थापनलाई दिगो बनाउँदै ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच परियोजना पुनर्स्थापनाका लागि समझदारी भएको हो।
समझदारीपत्रमा काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र एईपीसीका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार परियोजनालाई आगामी दुई महिनाभित्र पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
परियोजनाको पुनर्स्थापना तथा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत विश्व बैंकको सहयोगमा एईपीसीले सञ्चालन गरिरहेको मिनी ग्रिड उर्जा पहुँच कार्यक्रममार्फत व्यवस्थापन गरिने जनाइएको छ।
फोहोर व्यवस्थापनसँगै नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिँदै आएको सरकारले शहरी क्षेत्रका कुहिने फोहोरलाई ऊर्जा र जैविक मल उत्पादनमा उपयोग गर्ने योजना अघि बढाएको छ। टेकुको परियोजना पुनः सञ्चालनमा आएपछि काठमाण्डौको फोहोर व्यवस्थापन प्रणालीमा समेत थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हालै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबीच भएको छलफलमा पनि परियोजना सञ्चालन, सडकबत्ती व्यवस्थापन तथा मर्मतसम्भारका विषयमा छलफल भएको थियो।
समझदारी हस्ताक्षर कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले परियोजना तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै महानगरपालिका र एईपीसीबीच नवीकरणीय ऊर्जासम्बन्धी सहकार्यलाई आगामी दिनमा पनि विस्तार गरिने बताइन्।
एईपीसीका कार्यकारी निर्देशक ढकालले परियोजना सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिँदै विश्व बैंकको सहयोगबाट बजेट व्यवस्थापन सुनिश्चित भएको बताए। उनका अनुसार आगामी दिनमा फोहोरबाट ऊर्जा उत्पादनलगायत अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा महानगरसँग सहकार्यलाई निरन्तरता दिइनेछ।
युरोपियन युनियनको करिब १ करोड ८० लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको टेकुस्थित उक्त परियोजना केही समय सञ्चालनमा आएपछि बन्द भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।