काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले गोकर्णस्थित वाग्मती करिडोर विस्तारका क्रममा नेपाली सेनासँग विवाद नभएको दाबी गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै सांसद पाण्डेले सडक विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमै जानकारी नपुग्दा केही समय समन्वयमा कमी देखिएको तर त्यसपछि सेनासँग सहकार्य गरेरै करिडोर खोलिएको बताएका हुन्।
उनका अनुसार चुनावी अभियानका क्रममा स्थानीय बासिन्दाले करिडोरको बाटो खोल्न माग गरेका थिए। सोही मागअनुसार अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण र नेपाल ट्रस्टसँग समन्वय गरी डोजर प्रयोग गरिएको उनले उल्लेख गरेका छन्।
करिडोर विस्तार गर्न पुगेपछि उक्त क्षेत्रमा नेपाली सेनाको टुकडी रहेको जानकारी पाएको र आवश्यक समन्वयको जिम्मा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्षलाई दिइएको पाण्डेको भनाइ छ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियोहरू समन्वय हुन केही मिनेट ढिलाइ भएको अवस्थाका मात्र भएको उनले दाबी गरेका छन्। त्यसपछि नेपाली सेनाकै समन्वयमा सडक विस्तारको काम सम्पन्न गरिएको उनको स्पष्टीकरण छ।
उनले घटनाका कारण सेना असन्तुष्ट भएको आफूलाई नलागेको बताउँदै बजारमा चलेका हल्लाका पछि नलाग्न आग्रह गरेका छन्।
सांसद पाण्डेले नेपाली सेनाले नागरिक सर्वोच्चताको सधैँ सम्मान गर्दै आएको उल्लेख गर्दै आफूले पनि नेपाली सेना, राष्ट्रियता र सैनिक बर्दीको सम्मान गर्ने बताएका छन्।
यसअघि सार्वजनिक भिडियोमा सेनाका अधिकृतले आवश्यक लिखित अनुमति माग्दै केही समय काम रोक्न आग्रह गरेको र सांसद पाण्डेले डोजर नरोक्ने अडान लिएको देखिएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।