काठमाण्डौ । खुद ब्याज आम्दानी घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा कृषि विकास बैंकको नाफामा संकुचन आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा २९.५२ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने बैंकले ३ अर्ब ७३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि ३.४५ प्रतिशतले घट्दै ९ अर्ब १२ करोड रुपेयाँमा सीमित बनेको छ । बैंकको खुद सञ्चालन आम्दानी १० अर्ब ४ करोड र सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड रहेको छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब १७ ९० करोड २२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा यस्तो रकम ६३ करोड मात्रै थियो ।
बैंकको निक्षेप २ खर्ब ९३ अर्बबाट बढेर ३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह पनि २ खर्ब १२ अर्बबाट बढेर २ खर्ब ४७ अर्ब पुगेको छ । बैंकको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३.४४ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ४.०७ प्रतिशत पुगेको छ ।
यस्तै बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८१ करोड रुपैयाँबाट घटेर १ अर्ब २६ करोडमा सीमित बनेको छ । खुद नाफा र वितरणयोग्य मुनाफामा आएको गिरावटका कारण बैंकको लाभांश क्षमता पनि १७.९८ प्रतिशतबाट झरेर ६.५४ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १६.११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८९३.६१ रुपैयाँ र तरलता अनुपात ३७.४५ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।