काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको वृद्धि भएको तलबमान, ग्रेड तथा सुविधा निर्धारण गरेको छ।
अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई परिपत्र गर्दै नयाँ तलबमान, ग्रेड र मासिक प्रोत्साहन भत्ताअनुसार पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको हो।
नयाँ तलबमानअनुसार निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवको कुल मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम भएको छ। मुख्य सचिवको सुरु तलब स्केल ८४ हजार ९३२ रुपैयाँ रहेको छ भने त्यसमा दुई ग्रेडसम्मको रकम थपिनेछ।
नेपाली सेनाका प्रधानसेनापतिको तलबसमेत मुख्य सचिवसरह ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, नेपाल सरकारका विशिष्ट श्रेणीका सचिवको कुल मासिक तलब ८४ हजार ५७६ रुपैयाँ पुगेको छ। अवकाशप्राप्त सचिवले मासिक पेन्सनबापत ६६ हजार ५३९ रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, स्वास्थ्य सेवाका बाह्रौँ तहका अधिकृत तथा संघीय संसद् सेवाका सचिवको तलब पनि नेपाल सरकारका सचिवसरह कायम गरिएको छ।
अर्थ मन्त्रालयले स्वास्थ्य सेवा, सामुदायिक विद्यालय, संघीय संसद् सेवा, स्थानीय तह तथा अन्य सरकारी निकायका कर्मचारीको समेत नयाँ तलबमान र भत्ता निर्धारण गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।