शुक्रबार, श्रावण २२,२०८३ 05:05:59
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 05:05:59
Bizshala
Global IME Bank Limited

स्थानीय तहका उम्मेदवार छान्न रास्वपाको पाँचबुँदे मापदण्ड, पैसा र गुटबन्दीमा ‘जिरो टोलरेन्स’

भदौ १ देखि ‘क्यान्डिडेट क्लब’मा आवेदन, आर्थिक चलखेल र धाँधलीमा संलग्नलाई पार्टीबाटै निष्कासन गर्ने व्यवस्था

स्थानीय तहका उम्मेदवार छान्न रास्वपाको पाँचबुँदे मापदण्ड, पैसा र गुटबन्दीमा ‘जिरो टोलरेन्स’
New Office

 

 

काठमाण्डौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन पाँचबुँदे कडा मापदण्ड सार्वजनिक गरेको छ।

पार्टीले उम्मेदवार छनोटमा आर्थिक चलखेल, धाँधली, गुटबन्दी, दुष्प्रचार तथा चरित्र हत्याविरुद्ध ‘शून्य सहनशीलता’को नीति लिएको हो।

पार्टी महामन्त्री विपिनकुमार आचार्यले तयार पारेको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ साउन १३ गते बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदन भएपछि सार्वजनिक गरिएको हो।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि योग्य, इमानदार र सक्षम उम्मेदवार पहिचान गर्ने प्रक्रियाको सुरुवातस्वरूप भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’मा आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ।

पार्टीका अनुसार उम्मेदवार छनोट प्रक्रियाप्रति सदस्य तथा सर्वसाधारणको विश्वास कायम राख्ने, आन्तरिक लोकतन्त्र बलियो बनाउने तथा छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विधिसम्मत बनाउने उद्देश्यले विशेष आचारसंहिता र दण्ड–सजायको व्यवस्था गरिएको हो।

उम्मेदवारीका लागि पैसा चलाए पार्टीबाट निष्कासन

रास्वपाले उम्मेदवारी प्राप्त गर्ने वा अरू कसैलाई उम्मेदवार बनाउने उद्देश्यले आर्थिक लेनदेन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।

मूल्याङ्कन प्रभावित पार्न चन्दा, सहयोग, उपहार, सुविधा, प्रलोभन वा अन्य भौतिक लाभ दिने वा लिने कार्यसमेत निषेध गरिएको छ।

यस्तो आर्थिक चलखेलमा संलग्न दिने र लिने दुवै पक्षलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिने रूपरेखामा उल्लेख छ।

आन्तरिक मतदानमा धाँधली गरे सदस्यता खारेज

उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी मूल्याङ्कन, समावेशिता अंक, प्रारम्भिक निर्वाचनलगायतका चरणमा हुने धाँधलीलाई रास्वपाले गम्भीर कसुर मानेको छ।

जाली मत खसाल्ने, तथ्याङ्क तोडमोड गर्ने, प्रणालीमा अनधिकृत पहुँच गर्ने, नक्कली कागजात प्रयोग गर्ने वा स्कोरकार्ड प्रभावित गर्ने प्रयास भए त्यस्ता व्यक्तिलाई पार्टी सदस्यताबाटै बर्खास्त गरिनेछ।

आवश्यक परे कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिससमेत गरिने पार्टीले जनाएको छ।

छनोट समितिले पक्षपात गरे पनि कडा कारबाही

केन्द्रदेखि वडा तहसम्म गठन हुने उम्मेदवार छनोट समिति, मूल्याङ्कन समिति, उपसमिति वा कार्यदलका पदाधिकारी तथा सदस्यले कुनै उम्मेदवारलाई पक्षपात गर्न नपाउने व्यवस्था गरिएको छ।

गोप्य सूचना चुहाउने, प्रक्रियाको गोपनीयता भंग गर्ने, अनुचित प्रभावमा पर्ने वा निर्णय प्रक्रियालाई विकृत बनाउने कार्यलाई गम्भीर अनुशासनहीनता मानिनेछ।

यस्तो कार्यमा संलग्न पदाधिकारी वा सदस्यलाई तत्काल जिम्मेवारीबाट हटाएर पार्टी सदस्यताबाट समेत निष्कासन गर्ने व्यवस्था गरिएको छ।

गुटबन्दी र चरित्र हत्या गरे उम्मेदवारी नै खारेज

रास्वपाले उम्मेदवारीका पक्षमा माहोल बनाउन पार्टीको आधिकारिक संयन्त्रबाहिर गुटगत भेला गर्न, समानान्तर संरचना खडा गर्न वा दबाब समूह बनाउन प्रतिबन्ध लगाएको छ।

अन्य आकांक्षी, पार्टी संरचना वा मूल्याङ्कन संयन्त्रविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत भ्रामक सूचना, मिथ्या आरोप, दुष्प्रचार वा चरित्र हत्या गर्ने कामलाई पनि गम्भीर अनुशासनहीनता मानिनेछ।

यस्तो कार्यमा संलग्न आकांक्षीको उम्मेदवारी प्रक्रिया तत्काल खारेज गरी थप अनुशासनात्मक कारबाही अघि बढाइने पार्टीले जनाएको छ।

आरोपकै भरमा कारबाही नहुने

रास्वपाले आचारसंहिता उल्लङ्घनसम्बन्धी कारबाही आरोप वा अनुमानका भरमा मात्र नगर्ने स्पष्ट पारेको छ।

उजुरी परेपछि केन्द्रीय अनुशासन आयोगमार्फत ‘फास्ट ट्रयाक मेकानिजम’ प्रयोग गरी छानबिन गरिनेछ।

तथ्य, प्रमाण, डिजिटल अभिलेख, कागजात, साक्ष्य वा प्रत्यक्षदर्शी बयानबाट आरोप पुष्टि भएपछि मात्रै अन्तिम कारबाही गरिने रूपरेखामा उल्लेख छ।

पार्टीले यो व्यवस्थाको उद्देश्य प्रतिशोधात्मक कारबाही नभई स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियालाई स्वच्छ, विश्वासयोग्य र लोकतान्त्रिक बनाउनु रहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.