काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लामो समयदेखि दाबी हुन नसकेको नगद लाभांश तथा निष्क्रिय बैंक खाताको हकदाबी र अद्यावधिक गर्न सम्बन्धित सेयरधनी तथा निक्षेपकर्तालाई आग्रह गरेको छ।
बैंकले आव २०८२/८३ सम्ममा पाँच वर्षभन्दा बढी समयदेखि संकलन नभएको नगद लाभांश बाँकी रहेको जनाएको छ। विगतका साधारण सभाबाट पारित निर्णयअनुसार यस्तो लाभांश लिन बाँकी सेयरधनीलाई बैंकको सेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेडको लाजिम्पाटस्थित कार्यालयमा सम्पर्क गरी लाभांश लिन आग्रह गरिएको हो।
समयमै लाभांश संकलन नगरेमा प्रचलित कानूनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। बैंकले १० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभएका, मौज्दात रहेका वा शून्य मौज्दात भएका निष्क्रिय खाताहरू अद्यावधिक गरी पुनः सञ्चालनमा ल्याउन निक्षेपकर्तालाई आग्रह गरेको छ।
बैंकका अनुसार सम्बन्धित खातावालाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूलाई पायक पर्ने शाखा कार्यालयमा आवश्यक प्रमाणसहित स्वयं उपस्थित भई खाता अद्यावधिक गर्नुपर्नेछ।
तोकिएको अवधिमा हकदाबी नपरेका र १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खातालाई नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८२ को दफा ३(३) बमोजिम बन्द गरिने बैंकले जनाएको छ।
यसैगरी, बैंकले २० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभई निष्क्रिय अवस्थामा रहेका खाताहरूका सम्बन्धित निक्षेपकर्ता वा कानुनी हकवालालाई समेत खाता दाबी तथा अद्यावधिक गर्न आह्वान गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकमा साविक कसमस डेभलपमेन्ट बैंक लिमिटेड र वागेश्वरी डेभलपमेन्ट बैंक लिमिटेडका खातासमेत समेटिएका छन्।
सम्बन्धित निक्षेपकर्ता वा कानूनी हकवालाले आवश्यक प्रमाणसहित सूचना जारी भएको मितिले १५ दिनभित्र नजिकको शाखामा सम्पर्क गरी खाता अद्यावधिक तथा हकदाबी गर्नुपर्नेछ।
तोकिएको अवधिमा कसैको हकदाबी नपरेमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ को दफा ३(४) बमोजिम त्यस्ता खातामा रहेको रकम नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिने बैंकले स्पष्ट पारेको छ।
बैंकले पाँच वर्षभन्दा बढी समयदेखि संकलन नभएको लाभांश तथा १० वर्ष र २० वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका खातासम्बन्धी विवरण आफ्नो वेबसाइटमा समेत राखिएको जनाएको छ। सम्बन्धित सेयरधनी तथा निक्षेपकर्तालाई समयमै विवरण जाँच गरी आवश्यक प्रक्रिया पूरा गर्न बैंकले आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।