काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था गरेको छ।
रास्वपाका सहमहामन्त्री तथा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले भदौदेखि यस्तो भेटघाट कार्यक्रम सुरु हुने जानकारी दिएका छन्।
शाहद्वारा जारी विज्ञप्तिअनुसार पहिलो चरणमा मन्त्रीहरू अपराह्न ५ बजेदेखि ६ बजेसम्म पार्टी कार्यालयमा नागरिकसँग प्रत्यक्ष भेटघाट तथा संवादमा सहभागी हुनेछन्।
त्यसपछि साँझ ६ बजेपछि सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसदहरूको संयुक्त बैठक बस्ने व्यवस्था गरिएको छ।
रास्वपाले नागरिक, सरकारका मन्त्री र सांसदबीचको समन्वय थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न लागेको जनाएको छ।
पार्टीका अनुसार नियमित प्रत्यक्ष संवादले नागरिकका गुनासा, सुझाव र अपेक्षा मन्त्रीसम्म पुर्याउन सहज बनाउनुका साथै मन्त्रीहरूको जवाफदेहिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।