काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले कडा प्रतिक्रिया जनाएका छन्।
सांसद ढकालले आइतबार एक कार्यक्रममा नेपालमा सिंह नपाइने भएकाले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि प्रश्न उठाउँदै यसको नाम परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए। उनले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ नाम राख्न सकिने प्रस्तावसमेत गरेका थिए।
ढकालको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा टिप्पणी गरेका हुन्। उनले ढकाललाई ‘उपबुज्रुक’को संज्ञा दिँदै नाम परिवर्तनको प्रस्तावमाथि कटाक्ष गरेका छन्।
श्रेष्ठले लेखेका छन्, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् १ जसको मनमा हरि नै छैन उसको नाम चाहिँ हरि ! गोबर नाम राखे हुन्न ?’
ढकालले भने सिंहदरबारको नाम परिवर्तनको विषयलाई केवल नाममा सीमित नगरी प्रशासनिक कार्यशैली र संस्कार परिवर्तनसँग जोडेर धारणा राखेका थिए। उनले सिंहदरबारको ‘हाउभाउ, भावभङ्गी र भाषा’मा समेत पुरानो प्रशासनिक शैली झल्किने भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।