काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा देखिएको खाना पकाउने ग्यासको आपूर्ति समस्यालाई लिएर भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले अहिले देखिएको समस्या अस्थायी प्रकृतिको भएको भन्दै एक–दुई दिन ग्यास वितरणमा ढिलाइ हुँदा अत्यधिक प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताएकी हुन्।
उनले विगतमा लामो समयसम्म ग्यास अभाव हुँदा उपभोक्ताले ठूलो सास्ती भोगेको स्मरण गर्दै अहिलेको अवस्थालाई त्यही स्तरको संकटका रूपमा नलिन आग्रह गरेकी छन्।
‘ग्यासको हाहाकार पहिलेदेखि थियो। एक वर्षसम्म ग्यास नपाएर स्टोभमा भात पकाएर खाएको मलाई थाहा छ,’ उनले लेखेकी छन्, ‘आज एक–दुई दिन डिपोमा ग्यास भर्न ढिला हुँदा सबै उर्लेर आएको देख्दा अचम्म लाग्छ।’
नेपाल खाना पकाउने ग्यासमा आत्मनिर्भर नरहेको र आयातमै निर्भर हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै तामाङले वर्षायाममा ढुवानी तथा आपूर्तिमा केही दिन तलमाथि हुन सक्ने तर्क गरेकी छन्।
विदेशबाट आयात गर्नुपर्ने इन्धन बर्खाका कारण एक–दुई दिन ढिलो हुँदा सरकारमाथि चौतर्फी आलोचना गर्नु उचित नहुने उनको भनाइ छ।
‘ग्यास हाम्रो देशमा छैन। अरू देशबाट ल्याउनुपर्ने खनिज पदार्थ बर्खायाममा एक–दुई दिन ढिलो हुँदा सबै मिलेर सरकारमाथि खनिनु आवश्यक छ ?’ उनले प्रश्न गरेकी छन्।
पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा ग्यास आपूर्ति असहज बनेको गुनासो बढिरहेको छ। यसैबीच सरकारले कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न अनुगमन कडा बनाउने तयारी गरिरहेको अवस्थामा सत्ता साझेदार दलकी सांसद तामाङको यस्तो अभिव्यक्ति आएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।