सोमबार, श्रावण २५,२०८३ 06:41:09
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 06:41:09
Bizshala
Global IME Bank Limited

क्रिस्टल कञ्चनजंघाले उपलब्ध गराउने भयो ७० प्रतिशतसम्म ऋण, १० लाखदेखि २ करोडसम्म कारोबार सीमा

Prabhu Bank Limited
क्रिस्टल कञ्चनजंघाले उपलब्ध गराउने भयो ७० प्रतिशतसम्म ऋण, १० लाखदेखि २ करोडसम्म कारोबार सीमा
New Office

काठमाडौं । सेयर बजारका लगानीकर्ताले आफूसँग उपलब्ध रकमभन्दा ठूलो परिमाणमा सेयर कारोबार गर्न पाउने गरी स्टक ब्रोकर नम्बर ५०, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिले मार्जिन ट्रेडिङ सेवा सुरु गरेको छ।

कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना योग्य ग्राहक तथा लगानीकर्ताका लागि नेपाल धितोपत्र बोर्डको नियामकीय व्यवस्था र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले निर्धारण गरेको कार्यविधिअनुसार मार्जिन ट्रेडिङ सुविधा सञ्चालनमा ल्याएको जनाएको हो।

नयाँ योजनाअन्तर्गत लगानीकर्ताले तोकिएको कारोबार सीमाको न्यूनतम ३० प्रतिशत प्रारम्भिक मार्जिन जम्मा गरेर बाँकी ७० प्रतिशत रकम ब्रोकरबाट मार्जिन ऋणका रूपमा लिन सक्नेछन्। यसले सीमित पूँजी भएका योग्य लगानीकर्तालाई आफ्नो क्षमताभन्दा ठूलो कारोबार गर्ने बाटो खोलिदिएको छ।

कम्पनीले १० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्मका विभिन्न सातवटा कारोबार सीमा निर्धारण गरेको छ। योजनाअनुसार १० लाख रुपैयाँको सेयर कारोबार गर्न लगानीकर्ताले ३ लाख रुपैयाँ प्रारम्भिक मार्जिन राख्नुपर्नेछ भने कम्पनीबाट ७ लाख रुपैयाँसम्म मार्जिन ऋण प्राप्त गर्न सक्नेछ।

यस्तै, २० लाख रुपैयाँको कारोबारका लागि ६ लाख, ३० लाखका लागि ९ लाख, ४० लाखका लागि १२ लाख र ५० लाख रुपैयाँको कारोबारका लागि १५ लाख रुपैयाँ प्रारम्भिक मार्जिन आवश्यक पर्नेछ। बाँकी ७० प्रतिशत रकम कम्पनीले ऋण सुविधाका रूपमा उपलब्ध गराउनेछ।

ठूलो कारोबार गर्न चाहने लगानीकर्ताका लागि पनि कम्पनीले छुट्टै सीमा बनाएको छ। एक करोड रुपैयाँको कारोबार गर्न ३० लाख रुपैयाँ आफ्नै लगानी आवश्यक पर्नेछ भने बाँकी ७० लाख रुपैयाँ मार्जिन ऋण लिन सकिनेछ। त्यसैगरी, २ करोड रुपैयाँको कारोबारका लागि ६० लाख रुपैयाँ प्रारम्भिक मार्जिन जम्मा गर्दा एक करोड ४० लाख रुपैयाँसम्म मार्जिन ऋण उपलब्ध हुने कम्पनीको योजना छ।

कति लाग्छ शुल्क ?

कम्पनीले कारोबारको सीमा र ऋण प्रयोग गर्ने अवधिका आधारमा ब्याज तथा प्रशासनिक शुल्क निर्धारण गरेको छ। ऋण अवधि ३० दिनदेखि १८० दिनसम्म राखिएको छ।

१० लाख रुपैयाँको कारोबार सीमाअन्तर्गत ७ लाख रुपैयाँ मार्जिन ऋण लिँदा पहिलो ३० दिनका लागि ५ हजार ६०० रुपैयाँ ब्याज तथा प्रशासनिक शुल्क लाग्नेछ। यही सुविधा १८० दिनसम्म प्रयोग गर्दा शुल्क ३१ हजार ९२० रुपैयाँ पुग्ने तालिकामा उल्लेख छ।

त्यस्तै, ५० लाख रुपैयाँको कारोबार सीमामा ३५ लाख रुपैयाँ ऋण प्रयोग गर्दा ३० दिनको शुल्क २८ हजार रुपैयाँ र १८० दिनको शुल्क एक लाख ५९ हजार ६०० रुपैयाँ कायम गरिएको छ।

एक करोड रुपैयाँको कारोबार सीमामा उपलब्ध हुने ७० लाख रुपैयाँ ऋणका लागि ३० दिनको शुल्क ५६ हजार रुपैयाँ तोकिएको छ। दुई करोड रुपैयाँको कारोबार सीमाअन्तर्गत एक करोड ४० लाख रुपैयाँ ऋण प्रयोग गर्दा पहिलो ३० दिनका लागि एक लाख १२ हजार रुपैयाँ शुल्क लाग्नेछ।

कम्पनीले पहिलो ३० दिनपछि प्रत्येक थप ३० दिनको अवधिका लागि शुल्कमा एक प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ।

जुनसुकै सेयर किन्न भने पाइँदैन

मार्जिन ऋण लिएर लगानीकर्ताले आफूले चाहेको जुनसुकै कम्पनीको सेयर किन्न भने पाउने छैनन्। यस्तो रकमबाट नियामकीय व्यवस्थाअनुसार योग्य सूचीमा परेका सूचीकृत कम्पनीका सेयरमात्र खरिद गर्न सकिनेछ।

कम्पनीले यो सेवा पूर्ण रूपमा प्रचलित कानुन, नियामकीय व्यवस्था तथा आफ्नो आन्तरिक जोखिम व्यवस्थापन नीतिअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ। सुविधा लिन चाहने लगानीकर्ताले आवश्यक कागजातसहित कम्पनीको कार्यालयमा उपस्थित भएर आवेदन तथा सम्झौता गर्नुपर्नेछ।

क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजका प्रबन्ध सञ्चालक हरिबहादुर खड्काले ग्राहक तथा लगानीकर्तालाई पारदर्शी, भरपर्दो, प्रविधिमैत्री र गुणस्तरीय पूँजीबजार सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताएका छन्।

अवसरसँगै जोखिम पनि

मार्जिन ट्रेडिङले लगानीकर्ताको कारोबार क्षमता बढाउने भए पनि बजार घटेको अवस्थामा नोक्सानीको आकारसमेत बढ्न सक्छ। खरिद गरिएको सेयरको मूल्य घटेर तोकिएको मार्जिन अनुपात कायम हुन नसके लगानीकर्ताले थप रकम जम्मा गर्नुपर्ने अवस्था आउन सक्छ। आवश्यक मार्जिन थप गर्न नसके ब्रोकरले धितोमा रहेको सेयर बिक्री गरेर ऋण असुल गर्न सक्ने जोखिम रहन्छ।

त्यसैले कम्पनीले सुरु गरेको यो सुविधाले सक्रिय तथा अनुभवी लगानीकर्तालाई पूँजी परिचालनको नयाँ विकल्प दिए पनि ऋण लिएर गरिने कारोबार भएकाले कम्पनीको छनोट, बजारको अवस्था, ब्याज तथा शुल्क र सम्भावित नोक्सानीको मूल्याङ्कन गरेर मात्र प्रयोग गर्नु उपयुक्त देखिन्छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.