काठमाण्डौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको राजनीतिक अवसरलाई परिणाममा बदल्न नसके फेरि ‘भदौ २३’ जस्तो परिस्थिति दोहोरिन सक्ने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले अहिलेको पुस्ताले पाएको राजनीतिक अवसर सामान्य नभएको भन्दै त्यसलाई पद, प्रतिष्ठा र प्रशंसामा सीमित गर्न नहुने बताए।
उनले गत वर्षको भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रम स्मरण गर्दै शक्तिशाली देखिएको सरकारसमेत छोटो समयमै संकटमा पर्न सक्ने उदाहरण प्रस्तुत गरे।
‘भदौ २१ र २२ गतेसम्म सरकार बलियो थियो, दुई ठूला पार्टी सरकारमा थिए। तर २३ गते परिस्थिति रातारात बदलियो,’ लामिछानेले भने, ‘हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने फेरि त्यही डिलमा पुग्न सक्छौँ।’
उनले वर्तमान सरकार र रास्वपाले जनताले अपेक्षा गरेअनुसार परिणाम दिन नसके युवाको राजनीतिक नेतृत्वमाथि नै प्रश्न उठ्ने खतरा रहेको बताए।
‘युवाबाट राजनीति हुँदैन भन्ने भाष्य बन्न सक्छ’
लामिछानेका अनुसार अहिलेको राजनीतिक अवसर असफल भए केही वर्षभित्रै ‘अनुभव नभएका युवाबाट राजनीति सम्भव हुँदैन’ भन्ने धारणा बलियो बन्न सक्छ।
त्यस्तो अवस्था आए त्यसको सबैभन्दा ठूलो असर भविष्यमा राजनीतिमा आउन चाहने युवा पुस्ताले भोग्नुपर्ने उनको भनाइ थियो।
‘यदि हामीले जिम्मेवारी पूरा गर्न सकेनौँ भने युवाबाट राजनीति हुँदैन भन्ने भाष्य बन्न सक्छ,’ उनले भने, ‘त्यसको मूल्य भोलिका पुस्ताले चुकाउनुपर्नेछ।’
उनले अहिलेको पुस्ताले पाएको अवसरलाई व्यक्तिगत सफलताको रूपमा मात्र व्याख्या गर्नु गलत हुने बताए।
‘यो रमाउने बेला होइन’
रास्वपा सभापति लामिछानेले अहिले सरकार र पार्टी नेतृत्वले पदमा रमाउनेभन्दा परिणाम दिने समय भएको बताए।
‘यो रमाउने बेला होइन, जिम्मेवार भएर सोच्ने बेला हो,’ उनले भने।
युवा सांसद र मन्त्रीहरूलाई लक्षित गर्दै उनले पदमा पुगेको विषयलाई उपलब्धि मानेर बस्नुभन्दा जनताले महसुस गर्ने गरी काम देखाउनुपर्ने बताए।
उनले अहिलेको राजनीतिक परिवर्तनलाई टिकाउ बनाउन सरकार र पार्टी दुवैले कामको परिणाममार्फत जनविश्वास कायम राख्नुपर्ने आवश्यकता औंल्याए।
‘हामी फ्रेस हौँ, तगडा भइसकेका छैनौँ’
रास्वपाले अहिले पाएको राजनीतिक शक्ति र जनसमर्थनलाई अन्तिम सफलता नठान्न पनि लामिछानेले नेता तथा कार्यकर्तालाई आग्रह गरे।
‘हामी एकदमै तगडा भयौँ भन्ने सोच्ने बेला आएको छैन,’ उनले भने, ‘हामी फ्रेस मात्रै हौँ, तगडा हुन अझै बाँकी छ।’
लामिछानेले अहिलेको अवसर गुमे भविष्यमा युवाले यस्तै स्तरको राजनीतिक विश्वास र अवसर नपाउन सक्ने चेतावनी दिए।
उनका अनुसार अनुभव र उमेरलाई मात्रै राजनीतिक नेतृत्वको आधार मान्ने पुरानो धारणा बदल्न युवा नेतृत्वले परिणाम, इमानदारी र जिम्मेवारीबाट आफूलाई प्रमाणित गर्नुपर्नेछ।
उनले अन्ततः सरकार र पार्टी दुवैका लागि अहिलेको मुख्य परीक्षा जनतासमक्ष देखिने परिणाम नै भएको स्पष्ट पारे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।