काठमामण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
राष्ट्र बैंकले प्रेस विज्ञप्ति जारी गर्दै अभियोगपत्र दायर भएको जानकारी प्राप्त भएपछि बैंकको सञ्चालन तथा व्यवस्थापनको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको हो।
साथै, विद्यमान कानूनी व्यवस्थाका विषयमा आवश्यक राय–सुझाव लिने तथा छलफल गर्ने काम भइरहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकका अनुसार हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तरलताको अवस्था तथा वित्तीय सबलताका अन्य सूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक रहेका छन्। त्यसैले बैंकको दैनिक कार्य सञ्चालनमा तत्काल कुनै जटिलता उत्पन्न हुने अवस्था नदेखिएको राष्ट्र बैंकले जनाएको छ।
मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका साथै बैंकको दैनिक सञ्चालन अवस्थालाई आधार बनाएर थप छलफल तथा कानूनी राय लिइने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यक प्रक्रिया पूरा गरी कानूनबमोजिम बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा समग्र बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।