काठमाण्डौ । मोरङमा एलपी ग्यासको वितरण तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको संयुक्त बजार अनुगमनका क्रममा दुई व्यवसायलाई कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसार अनुगमनका क्रममा एक ग्यास पसललाई निरीक्षणमा सहयोग नगरेको भन्दै जरिवाना गरिएको छ भने एक ग्यास उद्योगलाई कम तौल र म्याद गुज्रिएका सिलिण्डरमा ग्यास भरेर बिक्रीको तयारी गरेको भेटिएपछि ठूलो रकम जरिवाना गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार २०८३ साउन २७ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले विराटनगर महानगरपालिका–३ स्थित कन्चनेश्वर ग्यास पसलमा अनुगमन गरेको थियो। अनुगमन तथा जाँचबुझमा सहयोग नगरेको पाइएपछि पसललाई रु. १५ हजार जरिवाना गरिएको छ।
सोही दिन टोलीले बुढीगंगा गाउँपालिका–५ स्थित रिजालको भान्सा ग्यास उद्योग प्रालिमा समेत अनुगमन गरेको थियो। अनुगमनका क्रममा अत्यावश्यक सेवाअन्तर्गत रहेको उक्त उद्योग ग्यास बुलेटको अभावका कारण सञ्चालनमा नरहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उद्योग परिसरमा रहेका १९ वटा रिफिल गरिएका सिलिण्डरको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा २४० ग्राम ग्यास कम रहेको पाइएको थियो। साथै, सिलिण्डरमा उल्लेखित म्याद समाप्त भइसकेका दुईवटा सिलिण्डरमा पुनः ग्यास भरेर सिलसमेत लगाई बिक्रीका लागि तयारी अवस्थामा राखिएको भेटिएको थियो।
उक्त कसुरका आधारमा उद्योगलाई रु. २ लाख ९५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। साथै, म्याद गुज्रिएका दुईवटा सिलिण्डरको सिल तोडी ग्यास नष्ट गर्न लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले एलपी ग्यासजस्तो अत्यावश्यक सेवाको वितरणमा उपभोक्ताको हित र सुरक्षालाई प्राथमिकतामा राख्दै बजार अनुगमन तथा नियमनलाई निरन्तरता दिइने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।