काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा चारवटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
कार्यसूचीअनुसार परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र कृषि, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) पेस गर्नेछिन्।
त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछिन्।
बैठकमा मन्त्री गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता समेत पेस गर्ने कार्यसूची रहेको छ।
यसैबीच, आजै विभिन्न पाँचवटा संसदीय समितिका बैठक पनि बस्दैछन्। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नोत्तरका साथै विभिन्न विधेयक र अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी विषयमा छलफल हुने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।