काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। एससी पावर कम्पनी प्रालिले तिला खोलामा निर्माण गर्न लागेको आयोजनामा एनएमबि बैंक अगुवा लगानीकर्ता तथा अगुवा बैंकका रूपमा रहेको छ।
आयोजनाको कुल अनुमानित लागत रु. ५९ अर्ब ४० करोड रहेको छ। उक्त लागतको करिब रु. ४४ अर्ब ५५ करोड बैंक तथा वित्तीय संस्थाको ऋण लगानीबाट जुटाइनेछ।
वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकका रूपमा रहेको छ भने ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्। अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाहरू सहभागी बैंकका रूपमा रहनेछन्।
वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबि बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल र एससी पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन्। कम्पनीको नेतृत्व अध्यक्ष कर्माचार्यसहितको समूहले गरिरहेको छ।
आयोजनाको उत्पादन अनुमतिपत्रअनुसार तिला–१ को कुल जडित क्षमता ४४० मेगावाट रहेको छ। विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाले वि.सं. २०८७ पुस १५ अर्थात् ३१ डिसेम्बर २०३० देखि व्यावसायिक उत्पादन सुरु गर्नुपर्नेछ।
निजी क्षेत्रको लगानी तथा नेतृत्वमा अघि बढाइएको तिला–१ जडित क्षमताका आधारमा हालसम्मका ठूला जलविद्युत आयोजनामध्ये एक हो। आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि पहिलो वर्ष करिब रु. ११ अर्ब ४० करोड आम्दानी हुने अनुमान गरिएको छ।
एनएमबि बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै आएको जनाएको छ। बैंकले लगानीका वातावरणीय तथा सामाजिक पक्षको मूल्याङ्कन गरी जिम्मेवार तथा दिगो लगानीलाई प्राथमिकता दिँदै आएको छ।
अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने क्रममा आयोजनाको प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन पक्षको परीक्षणसमेत गरिएको बैंकले जनाएको छ। यसका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (HSA) द्वारा विकसित Hydropower Sustainability Alliance प्रारम्भिक परीक्षण उपकरण प्रयोग गरी आयोजनाका वातावरणीय तथा सामाजिक पक्षको अध्ययन तथा मूल्याङ्कन गरिएको बताइएको छ।
एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ। एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।