बुधबार, भाद्र ३,२०८३ 04:43:27
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:43:27
Bizshala
Global IME Bank Limited

रविको बैठकमा मन्त्रीकै कार्यशैलीमाथि प्रश्न, ‘स्टन्ट मात्रै गर्ने हो भने राजीनामा दिनुस्’

भौतिक, उद्योग, गृह र अर्थमन्त्रीको काममाथि सांसदको प्रश्न, सांसदहरूलाई पनि मर्यादा र कार्यशैली सुधार्न निर्देशन

रविको बैठकमा मन्त्रीकै कार्यशैलीमाथि प्रश्न, ‘स्टन्ट मात्रै गर्ने हो भने राजीनामा दिनुस्’
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल बैठकमा आफ्नै सरकारका मन्त्रीहरूको कार्यशैलीमाथि सांसदहरूले कडा प्रश्न उठाएका छन्। पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा केही मन्त्रीहरू ‘स्टन्टबाजी’ र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको भन्दै परिणाम दिन नसक्ने भए पद छाड्नुपर्ने आवाजसमेत उठेको छ।

सांसदहरूले विशेषगरी भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव, गृहमन्त्री सुधन गुरुङ तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको काम र कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

बैठकमा सांसद र मन्त्रीबीच सरकारको काम, संसदीय मर्यादा, समन्वयको अभाव तथा जनतामा सरकारको कार्यसम्पादनबारे परेको प्रभावका विषयमा खुला छलफल भएको थियो।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार सांसद र मन्त्रीबीच सहकार्य तथा समन्वय कमजोर भएको महसुस भएपछि सभापति लामिछानेले बैठक बोलाएका थिए।

‘काम गर्न सकिँदैन भने अरूलाई ठाउँ दिनुस्’

बैठकमा सांसदहरूले मन्त्रीहरूलाई ‘काम गरिरहेको छु’ भन्ने दाबी मात्र पर्याप्त नहुने भन्दै त्यसको परिणाम जनताले महसुस गर्नुपर्ने बताएका थिए।

विशेषगरी बजारमा देखिएको ग्यास अभाव र कालोबजारीको विषय उठाउँदै सांसदहरूले उद्योग मन्त्रालयको कार्यसम्पादनमाथि प्रश्न गरे।

विगतको तुलनामा ग्यास आपूर्ति बढेको भनिए पनि बजारमा अभाव कायमै रहनु र एउटै उपभोक्ताले दुई–तीनवटा सिलिन्डर सञ्चय गर्ने अवस्था नियन्त्रण गर्न नसकिएको भन्दै सांसदहरूले प्रभावकारी अनुगमनको माग गरे।

बैठकमा सांसदहरूले मन्त्रीहरूलाई लक्षित गर्दै भने, “काम गर्दै छु भनेर मात्र हुँदैन। काम पारदर्शी, न्यायोचित र परिणाममुखी हुनुपर्छ। जनताले काम देखेनन् भने प्रश्न उठ्छ। गर्न सकिँदैन भने सकिनँ भन्नुपर्छ, सक्षम व्यक्तिका लागि मार्ग प्रशस्त गर्नुपर्छ।”

‘स्टन्टबाजी होइन, आफ्नो मन्त्रालय सम्हाल्नुस्’

सांसदहरूले मन्त्रीहरूलाई आफ्नो संवैधानिक र प्रशासनिक कार्यक्षेत्रभित्र केन्द्रित हुनसमेत सुझाव दिएका छन्।

प्रदेश र स्थानीय तहको जिम्मेवारीमा समेत संघीय मन्त्रीहरूले हस्तक्षेप गर्न खोजेको भन्दै आफ्नै मन्त्रालयका मूल समस्या समाधानमा ध्यान दिन सांसदहरूको आग्रह थियो।

विशेषगरी भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, उद्योगमन्त्री गौरीकुमारी यादव र गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि प्रश्न उठाइएको थियो।

“आफ्नो कार्यक्षेत्रको काम छाडेर अरू तहको काममा हस्तक्षेप नगरौँ। स्टन्ट र प्रचारबाजीभन्दा परिणाममुखी काम गरौँ,” बैठकमा सांसदहरूले धारणा राखेका थिए।

स्वर्णिमको ‘लोटरी कार्यक्रम’माथि पनि प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहनसम्बन्धी लोटरी कार्यक्रममाथि पनि सांसदहरूले प्रश्न उठाएका छन्।

कार्यक्रम उद्घाटन गरिसकेपछि त्यसको नियमित सञ्चालन कर्मचारी वा सम्बन्धित निकायलाई जिम्मा दिएर अर्थमन्त्रीले देशको अर्थतन्त्रका ठूला विषयमा ध्यान दिनुपर्ने सांसदहरूको सुझाव थियो।

वाग्लेले अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई लोटरीमार्फत एक लाखदेखि १० लाख रुपैयाँसम्म पुरस्कार दिने कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

Bizshala
CG Motors

‘मन्त्रीहरू घुमफिर र प्रचारमा बढी भए’

बैठकमा मन्त्रीहरूको भ्रमण, सार्वजनिक गतिविधि तथा प्रचारमुखी शैलीमाथि पनि असन्तुष्टि व्यक्त गरिएको थियो।

भौतिक पूर्वाधारमन्त्री लम्साल स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित नभए पनि उनको कार्यशैलीबारे सांसदहरूले प्रश्न उठाएका थिए।

“मन्त्रीहरू धेरै घुमफिरमा व्यस्त देखिन्छन्। जनता उपचार नपाएर तड्पिरहेका छन्। मन्त्रीहरूको मोजमस्ती बढी भयो कि भन्ने जनताको प्रश्न छ,” बैठकमा सांसदहरूले बताएका थिए।

उनीहरूले क्यामराअगाडि केही निर्देशन दिएको भरमा देश नबन्ने भन्दै मन्त्रीहरूलाई वास्तविक नतिजा देखाउन चुनौती दिएका थिए।

सांसद पनि विवादमुक्त छैनन्

बैठकमा मन्त्रीसँगै सांसदहरूको व्यवहारमाथि पनि समीक्षा भएको थियो।

सांसद खगेन्द्र सुनुवारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दिएको अभिव्यक्ति, आशिका तामाङको संसदीय प्रस्तुति तथा ज्वाला संग्रौलासँग सम्बन्धित विवादसमेत बैठकमा उठेको बताइएको छ।

सभापति लामिछानेले विवादमा आएका सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न र जिम्मेवार भएर प्रस्तुत हुन निर्देशन दिएका छन्।

खगेन्द्र सुनुवारको अभिव्यक्तिका विषयमा प्रहरी महानिरीक्षकसँग माफी माग्नुपर्ने हो कि भन्ने विषयसमेत अनौपचारिक छलफलमा उठेको एक सांसदले बताएका छन्।

रविको चेतावनी– ‘हामीलाई पाँच वर्ष पनि पर्खँदैनन्’

सभापति लामिछानेले पार्टीका मन्त्री र सांसद दुवैलाई प्रचारमुखी शैली त्यागेर परिणाम देखाउन निर्देशन दिए।

उनले पुराना दललाई जनताले दशकौँसम्म अवसर दिए पनि रास्वपालाई लामो समय पर्खने अवस्था नरहेको बताएका थिए।

“अरू दललाई जनताले ३०–३५ वर्षसम्म पटक–पटक हेरे। हामीलाई पाँच वर्ष पनि हेर्न सक्नुहुन्न, किनकि हामी परिणाम दिन आएका हौँ, स्टन्ट र प्रचार गर्न होइन,” लामिछानेको भनाइ थियो।

उनले सांसदहरूलाई संसदीय भूमिका, आफ्नो अधिकारक्षेत्र, सदनमा प्रस्तुत हुने शैली र जनतासँगको व्यवहारबारे अध्ययन गर्नसमेत आग्रह गरे।

प्रधानमन्त्री बालेन बैठकमा अनुपस्थित

संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा सहभागी भएनन्। सिंहदरबारमा अत्यावश्यक काम रहेकाले उनी उपस्थित नभएको बताइएको छ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल स्वास्थ्य समस्याका कारण सहभागी भएनन् भने सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल पनि बैठकमा अनुपस्थित थिए।

अर्थमन्त्री वाग्ले, गृहमन्त्री गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुनमन्त्री सोविता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाल, पर्यटनमन्त्री गणेश पौडेललगायत अधिकांश मन्त्री बैठकमा सहभागी थिए।

‘आरएसपी पल्स’मा गतिविधि अपडेट गर्न निर्देशन

सभापति लामिछानेले मन्त्री र सांसदलाई आफ्ना गतिविधि पार्टीले सञ्चालनमा ल्याएको ‘आरएसपी पल्स’ एपमा नियमित अपडेट गर्नसमेत निर्देशन दिएका छन्।

संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाट र अन्य गतिविधिको विवरण पार्टी नेतृत्वलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो।

उनले मन्त्री र सांसदको पोशाक, व्यवहार र सार्वजनिक प्रस्तुतिमा समेत मर्यादा कायम गर्न आग्रह गरे।

बैठकमा संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गर्ने निर्णयसमेत भएको छ।

बैठकले सरकारभित्रकै मन्त्रीहरूको कार्यशैली, पार्टीका सांसदहरूको व्यवहार र नेतृत्वसँगको समन्वयमा समस्या रहेको विषयलाई औपचारिक रूपमा सतहमा ल्याएको छ। अब बैठकमा उठेका प्रश्नपछि सम्बन्धित मन्त्री र सांसदहरूको कार्यशैलीमा कस्तो परिवर्तन आउँछ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.