काठमाण्डौ । राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित भएको छ। शुक्रबार बसेको बैठक स्थगित गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भदौ ९ गते बस्ने जानकारी दिएका हुन्।
शुक्रबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ राष्ट्रिय सभामा प्रस्तुत गरेकी थिइन्।
उक्त विधेयकमाथि राष्ट्रिय सभामा प्रारम्भिक छलफलसमेत भएको छ। छलफलपछि सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ।
प्रस्ताव स्वीकृत भएसँगै अब राष्ट्रिय सभा सदस्यहरूका लागि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुलेको छ।
बैठकका अन्य कार्यसूची सम्पन्न भएपछि अध्यक्ष दाहालले बैठक स्थगित भएको घोषणा गरेका हुन्। अब राष्ट्रिय सभाको अर्को बैठक भदौ ९ गते बस्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।