काठमाण्डौ । ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक अधिवक्ताले सर्वोच्च अदालत परिसरमा आत्महत्याको प्रयास गरेका छन्। सुरक्षाकर्मीको सक्रियताले उनलाई सकुशल जोगाइएको छ।
प्राप्त जानकारीअनुसार अधिवक्ता लालबहादुर राईले मंगलबार दिउँसो मुद्दाको फैसला आफ्नो विपक्षमा आएपछि गम्भीर कदम चाल्ने प्रयास गरेका थिए। घटनाबारे थाहा पाएलगत्तै सर्वोच्च अदालतको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएर सुरक्षित बनाएका हुन्।
घटनास्थलबाट एउटा नोटसमेत फेला परेको बताइएको छ। यद्यपि त्यसमा उल्लेख विषयवस्तुबारे आधिकारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अदालत परिसरमा एक व्यक्तिले आत्महत्याको प्रयास गरेको र सुरक्षाकर्मीले उद्धार गरेको जानकारी प्राप्त भएको पुष्टि गरेका छन्।
“एकजनाले आत्महत्याको प्रयास गरेपछि सुरक्षाकर्मीले सकुशल उद्धार गरेको जानकारी पाएको छु,” कोइरालाले बताए।
सर्वोच्च अदालतको सुरक्षा जिम्मेवारीमा रहेका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाले पनि घटनामा संलग्न व्यक्तिलाई समयमै सुरक्षित रूपमा उद्धार गरिएको जानकारी दिएका छन्।
घटनापछि अदालत परिसरको सुरक्षा व्यवस्थासँगै सम्बन्धित व्यक्तिको अवस्थाबारे समेत आवश्यक निगरानी गरिएको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।