काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीको असर मुग्लिन हुँदै चितवनसम्म पुग्न सक्ने भन्दै त्रिशूली नदीसहित तल्लो तटीय क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा सर्न आग्रह गरेको छ।
पार्टीले भदौ १० गते जारी गरेको विज्ञप्तिमा रसुवा र नुवाकोटका तटीय क्षेत्रमा बाढीले क्षति पुर्याइसकेको र यसको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भनी बाढी पूर्वानुमान शाखाले जारी गरेको चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा त्रिशूली नदी र त्यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र यतिबेला उच्च जोखिममा रहेको उल्लेख गरिएको छ। सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकार, स्थानीय प्रशासन र नागरिकलाई विशेष सतर्कता अपनाउन पार्टीले आह्वान गरेको छ।
पार्टीले बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाह तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
विशेषगरी जोखिमपूर्ण तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने रास्वपाको भनाइ छ।
‘नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई संयमता अपनाउँदै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
अवस्था सामान्य नभएसम्म अत्यावश्यक परिस्थितिबाहेक सम्बन्धित नदी तटीय सडकमा कुनै पनि प्रकारको यात्रा नगर्नसमेत पार्टीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
रास्वपाले कुनै आपतकालीन अवस्था सिर्जना भए तत्काल नेपाल प्रहरीको टोल–फ्री नम्बर १०० र आपतकालीन नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरेको छ।
यसैगरी जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका काममा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ।
भोटेकोशीको बाढीपछि त्रिशूली नदीको बहाव र तल्लो तटीय क्षेत्रमा बढेको जोखिमलाई ध्यानमा राख्दै राज्यका सबै संयन्त्र र सर्वसाधारण उच्च सतर्कतामा रहनुपर्ने रास्वपाले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।