काठमाण्डौ । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट आज आफ्नो व्यावसायिक करिअरकै महत्वपूर्ण प्रतिस्पर्धामा उत्रिँदैछन्। ‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकसँग प्रतिस्पर्धा गर्नेछन्।
चीनको साङ्घाईस्थित अक्टागनमा हुने यो बहुप्रतीक्षित भिडन्त नेपाली समयअनुसार अपराह्न पौने ३ बजेपछि सुरु हुनेछ। दुवै खेलाडीको उत्कृष्ट प्रदर्शन र अपराजित यात्राका कारण सेमिफाइनल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
बान्टमवेट विधामा प्रतिस्पर्धा गर्दै आएका रवीन्द्रले हालसम्म १० व्यावसायिक एमएमए बाउट खेलेका छन्। उनले नौ खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजित भएका छन्। सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि रवीन्द्रले लगातार प्रभावशाली प्रदर्शन गर्दै आएका छन्।
गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को बान्टमवेट उपाधि जितेपछि रवीन्द्रको चर्चा थप चुलिएको थियो। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै उपाधि जितेका थिए। यससँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका थिए।
रोड टु युएफसी सिजन–५ मा पनि रवीन्द्रले प्रभावशाली यात्रा जारी राखेका छन्। गत मे महिनामा मकाउमा भएको क्वार्टरफाइनलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। यससँगै उनी रोड टु युएफसीको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने।
अब रवीन्द्रसामु नेपाली एमएमएको इतिहासमा अर्को कीर्तिमान बनाउने अवसर छ। आजको खेलमा कासिब मर्डोकलाई पराजित गर्न सके उनी रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्नेछन्।
तर, रवीन्द्रका प्रतिद्वन्द्वी मर्डोक पनि सहज खेलाडी भने होइनन्। न्युजिल्यान्डका मर्डोक हालसम्म व्यावसायिक एमएमए करिअरमा अपराजित छन्। उनले गत मेमा भएको क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए।
रवीन्द्रका लागि आजको भिडन्त फाइनल प्रवेशको अवसर मात्र नभई युएफसीको ढोका खोल्ने महत्वपूर्ण खुड्किलोसमेत हो। रोड टु युएफसीको फाइनल जित्न सके उनले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्न सक्छन्।
त्यसैले साङ्घाईको अक्टागनमा हुने आजको भिडन्त रवीन्द्रका लागि व्यक्तिगत करिअरसँगै नेपाली एमएमएको इतिहासमा समेत महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।