काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले बाढी प्रभावित क्षेत्रमा राहत वितरणका नाममा व्यक्तिगत तथा असमन्वित रूपमा सवारी साधन लिएर नजान आग्रह गरेको छ।
प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जाने निजी सवारीको चाप बढ्दा एम्बुलेन्स, उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारीसमेत प्रभावित हुन थालेपछि सचिवालयले यस्तो आग्रह गरेको हो।
शुक्रबार जारी सूचनामा विषम परिस्थिति र जोखिमयुक्त भूगोलमा आवश्यक पूर्वतयारीबिना पुग्दा राहतदाताकै सुरक्षामा समेत जोखिम बढेको उल्लेख गरिएको छ।
सचिवालयले उद्धार तथा राहत कार्यलाई थप अव्यवस्थित र जोखिमपूर्ण हुन नदिन तथा वास्तविक पीडितसम्म छिटो राहत पुर्याउन व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ जाने काम रोक्न आग्रह गरेको छ।
पूर्वसमन्वयबिना साना निजी सवारीमा थोरै–थोरै राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाने क्रम बढेसँगै सडकमा अत्यधिक सवारी चाप सिर्जना भएको सचिवालयले जनाएको छ।
यसका कारण आपत्कालीन बिरामी बोकेका एम्बुलेन्सले समेत सहज बाटो पाउन नसकेको तथा सरकारी उद्धार टोली र प्राथमिकताका राहतवाहक सवारी समयमै गन्तव्यमा पुग्न कठिन भएको बताइएको छ।
प्रधानमन्त्री सचिवालयले अब राहत वितरण वा उद्धारमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग अनिवार्य पूर्वसमन्वय गर्न आग्रह गरेको छ।
सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयले प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकता पहिचान गरी राहत सामग्रीलाई एकीकृत रूपमा आवश्यक स्थानमा पुर्याउने व्यवस्था गर्ने सचिवालयले जनाएको छ।
सचिवालयले राहतदाताको सद्भाव र सहयोगको भावनाको सम्मान गर्दै राज्यको आधिकारिक संयन्त्रमार्फत व्यवस्थित रूपमा राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सवारीको आवागमन निर्बाध बनाउन अनावश्यक सवारी चाप घटाउनुपर्नेमा पनि सचिवालयले जोड दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।