काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कुल ३ करोड ८ लाख रुपैयाँबराबरको सहयोग प्रदान गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो। यसका अतिरिक्त प्रभावित समुदायका लागि ७ लाख रुपैयाँबराबरका विभिन्न खाद्यान्न सामग्रीसमेत प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित नागरिकको उद्धार, तत्काल राहत र पुनर्स्थापनामा सघाउन सहयोग प्रदान गरिएको जनाएको छ।
प्राइम कमर्सियल बैंकले विगतमा पनि विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको उल्लेख गरेको छ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।