Bizshala
  • शनिबार, भाद्र १३,२०८३ 12:02:05
Bizshala
Global IME Bank Limited

भोटेकोशी पीडितलाई जथाभावी राहत नपठाउन सरकारको आग्रह, आवश्यक सामग्रीको सूची सार्वजनिक

भोटेकोशी पीडितलाई जथाभावी राहत नपठाउन सरकारको आग्रह, आवश्यक सामग्रीको सूची सार्वजनिक
New Office

काठमाडौं। सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक खोज, उद्धार तथा राहत सामग्रीको सूची सार्वजनिक गर्दै सहयोगलाई एकद्वार प्रणालीबाट परिचालन गर्न आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै इच्छुक दातृ निकाय, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा निजी क्षेत्रलाई प्रभावित परिवारको वास्तविक आवश्यकताका आधारमा मात्रै राहत सामग्री उपलब्ध गराउन भनेको हो।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि खोज, उद्धार तथा राहत व्यवस्थापन निरन्तर चलिरहेको उल्लेख गर्दै प्राधिकरणले राहत वितरणलाई छिटो, छरितो र प्रभावकारी बनाउन निश्चित सामग्रीलाई प्राथमिकतामा राखेको जनाएको छ।

Bizshala
CG Motors

त्रिपालदेखि शिशु सामग्रीसम्म आवश्यक

प्राधिकरणका अनुसार अस्थायी आवासका लागि टेन्ट, त्रिपाल, डोरी, कम्बल, प्लास्टिक सिट, सिरानी, स्लिपिङ ब्याग र सुत्ने म्याट आवश्यक छन्। भान्साका लागि किचन सेट, ग्यास सिलिन्डर तथा चुलो माग गरिएको छ।

सरसफाइतर्फ प्लास्टिक बाल्टिन, मग, पानी राख्ने भाँडो, शून्यदेखि दुई वर्ष र तीनदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाका लागि ‘बेबी किट’, किशोरीका लागि ‘डिग्निटी किट’, चप्पल तथा अत्यावश्यक कपडा आवश्यक रहेको प्राधिकरणले जनाएको छ।

यसैगरी मास्क, पञ्जा, स्प्रे, हाइजिन किट, क्लोरिन ट्याब्लेट, ट्वाइलेट पेपर, स्यानिटाइजर, साबुन, स्यानिटरी प्याड, ब्रस, मञ्जन र तौलियालाई पनि प्राथमिक राहत सामग्रीको सूचीमा राखिएको छ।

सोलार बत्ती, जेनेरेटर र पावर बैंक पनि माग

बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएकाले सोलार प्यानल, सोलार बत्ती, ब्याट्री र चार्जिङ पोर्टसहितको घरेलु सोलार किट, पोर्टेबल जेनेरेटर, टर्चलाइट, पावर बैंक तथा एए र एएए ब्याट्री आवश्यक रहेको सूचनामा उल्लेख छ।

खाद्यान्नतर्फ उच्च ऊर्जायुक्त बिस्कुट, तत्काल खान मिल्ने तयारी खाना, चामल, दाल, आलु, खानेतेल, नुन, सोयाबिन, सुकुटी तरकारी, चिउरा, मसला र सुक्खा फलफूल माग गरिएको छ।

बाढीले सडक तथा पुलमा व्यापक क्षति पुर्‍याएकाले आपतकालीन आवागमन पुनःस्थापनाका लागि ५० देखि ७० मिटरसम्म लम्बाइको बेलिब्रिजसमेत आवश्यक सामग्रीको सूचीमा समावेश गरिएको छ।

कहाँ बुझाउने राहत सामग्री?

हवाईमार्गबाट आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपतकालीन गोदाममा बुझाउन सकिनेछ। स्थलमार्गबाट प्राप्त हुने सामग्री नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसीमा उपलब्ध गराउन सकिने प्राधिकरणले जनाएको छ।

त्यस्तै, नुवाकोट र रसुवाका प्रभावित क्षेत्रका लागि राहत सामग्री मैथली ब्यारेक, विदुर वा जिल्ला प्रशासन कार्यालय धुन्चेमा बुझाउन सकिनेछ। सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी प्रभावित स्थानमै सामग्री उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको छ।

राहत सामग्री संकलन तथा समन्वयका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आपतकालीन गोदाम, मैथली ब्यारेक र प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा सम्पर्क व्यक्ति तोकिएका छन्। सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहका सम्पर्क विवरण ती निकायको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

सूचीबाहिरको सामग्री पठाउनुअघि स्वीकृति अनिवार्य

प्राधिकरणले सार्वजनिक सूचीमा उल्लेख नभएका सामग्री उपलब्ध गराउन चाहने दाताले पहिले सामग्रीको पूर्ण विवरण [email protected] मा पठाउनुपर्ने जनाएको छ। प्राधिकरणबाट सहमति प्राप्त भएपछि मात्रै त्यस्ता सामग्री उपलब्ध गराउन सकिनेछ।

खोज तथा उद्धार सामग्रीको विस्तृत प्राविधिक विवरण प्राधिकरणको वेबसाइटमा रहेको स्रोतमा वा यस लिङ्कमार्फत हेर्न सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.