काठमाडौं। भोटेकोशी क्षेत्रमा निम्तिएको विनाशकारी बाढी तथा पहिरोबारे नेपाललाई समयमै चेतावनी नदिएको आरोपप्रति चीनले औपचारिक प्रतिक्रिया जनाएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार वक्तव्य जारी गर्दै उपलब्ध प्रविधिको सीमाभित्र रहेर जोखिमको अनुगमन तथा विश्लेषण गरिएको र महत्त्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै बाँडिएको दाबी गरेको हो।
नेपाली सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्ममा चीनले विपद्को पूर्वसूचना दिन नसकेको भन्दै प्रश्न उठेपछि दूतावासले आफ्नो धारणा सार्वजनिक गरेको हो।
दूतावासका अनुसार हिमाली क्षेत्रमा जोखिमका बिन्दु अत्यन्त छरिएका छन्। समुद्री सतहबाट चारदेखि पाँच हजार मिटर वा त्यसभन्दा माथिका अत्यधिक चिसो क्षेत्रमा ठूलो संख्यामा हिमताल तथा हिउँ–चट्टानका संरचना रहेकाले सबै क्षेत्रमा नियमित स्थलगत सर्वेक्षण गर्न सम्भव हुँदैन।
ठाडो भिरालो क्षेत्रमा भू–उपग्रहबाट लिइने तस्बिरमा देखिने त्रुटि तथा विशाल र जटिल भूभागको उच्च सटीकतासहित नियमित अनुगमन गर्नु अझै अन्तर्राष्ट्रिय चुनौती रहेको दूतावासले जनाएको छ।
२०७२ को भूकम्पले बढायो अनिश्चितता
दूतावासले २०७२ वैशाख १२ गते नेपालमा गएको भूकम्पले हिमालयको दक्षिणी भेगका चट्टानी संरचनालाई अस्थिर बनाएको उल्लेख गरेको छ। त्यसले उच्च हिमाली क्षेत्रका चट्टानको अवस्थाबारे अनिश्चितता थप बढाएको उसको विश्लेषण छ।
यस्तो जटिलताका बीच पनि चिनियाँ विज्ञ टोलीले उपलब्ध प्रविधिको अधिकतम प्रयोग गरी जोखिमको अनुगमन, मूल्याङ्कन र विश्लेषण गर्दै आएको दूतावासको भनाइ छ। त्यसबाट प्राप्त महत्त्वपूर्ण सूचना नेपाली निकायलाई समयमै उपलब्ध गराइएको पनि चीनले दाबी गरेको छ।
सीमापार विपद् सूचना संयन्त्र बनाउने तयारी
चीनले नेपालसँग सीमापार विपद् व्यवस्थापनका विषयमा निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाएको छ। यसै वर्षको मे महिनामा चीनको जलस्रोत मन्त्रालय र सिजाङ स्वायत्त क्षेत्रको जलस्रोत विभागका प्रतिनिधिले नेपाल भ्रमण गरेका थिए।
उक्त भ्रमणका क्रममा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद्सम्बन्धी सूचना आदानप्रदान गर्ने संयन्त्र स्थापनाबारे उल्लेख्य प्रगति भएको दूतावासले जनाएको छ।
त्यस्तै, अगस्टमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पर्वतीय जोखिम तथा वातावरण संस्थाको टोली नेपाल आएको थियो। टोलीले हिमताल अनुगमनसम्बन्धी वैज्ञानिक अनुसन्धान तथा चीनको व्यावहारिक अनुभव नेपाली पक्षसँग आदानप्रदान गरेको वक्तव्यमा उल्लेख छ।
विपत्तिकै दिन भएको थियो आकस्मिक बैठक

दूतावासका अनुसार अगस्ट २६ मा चिनियाँ मौसम प्रशासन र नेपालको जल तथा मौसम विज्ञान विभागबीच आकस्मिक भर्चुअल बैठक भएको थियो। बैठकमा विपद्को अवस्थाको संयुक्त मूल्याङ्कन गर्नुका साथै दुवै पक्षले उपलब्ध तथ्यांक एकैसाथ आदानप्रदान गरेका थिए।
चीनले अहिले पनि सीमा क्षेत्रमा बनेको अवरोध तालको अनुगमन विवरणसहित जल तथा मौसमसम्बन्धी सूचना नेपाललाई उपलब्ध गराइरहेको जनाएको छ। यस्ता विवरणले राहत, उद्धार र सम्भावित थप विपद् रोकथाममा सहयोग पुग्ने उसको भनाइ छ।

चिनियाँ मौसम प्रशासनले ‘माजु’ नामक स्मार्ट मौसम पूर्वचेतावनी प्रणालीअन्तर्गत नेपाललाई प्रारम्भिक अनुकूलित सेवा उपलब्ध गराउन थालेको पनि दूतावासले बताएको छ। यसले सीमापार विपद्को पूर्वसूचना तथा प्रतिकार्य क्षमता बढाउने चीनको विश्वास छ।
दूतावासले नेपाल र चीनबीच विपद् रोकथाम तथा सूचना आदानप्रदानको सहकार्य अझ गहिरो बनाइने प्रतिबद्धता जनाएको छ। वक्तव्यले चीनमाथि लागेको आरोप अस्वीकार गरे पनि यति ठूलो विपद् आउनुअघि नेपाली निकायले कति स्पष्ट, उपयोगी र कार्यान्वयनयोग्य पूर्वसूचना प्राप्त गरेका थिए भन्ने प्रश्न भने थप संस्थागत छानबिनको विषय बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।