काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ।
स्टारलिंकले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको सन्देशमा नेपाल सरकार तथा मानवीय सहायतामा संलग्न संस्थालाई सहयोग गर्न आफूहरू तयार रहेको जनाएको हो। कम्पनीका अनुसार नेपाल सरकारबाट आवश्यक अनुमति प्राप्त हुनेबित्तिकै प्रभावित क्षेत्रमा प्रयोग गर्न मिल्ने आवश्यक उपकरण उपलब्ध गराई निःशुल्क स्याटलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याइनेछ।
बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुग्नुका साथै मोबाइल टावरलगायत सञ्चार पूर्वाधारसमेत प्रभावित भएको अवस्थामा वैकल्पिक सञ्चार माध्यमका रूपमा स्टारलिंकको सेवा उपयोगी हुने कम्पनीले जनाएको छ।
स्टारलिंकका अनुसार प्राकृतिक विपद्का समयमा परम्परागत सडक तथा सञ्चार सञ्जाल अवरुद्ध हुँदा स्याटलाइट इन्टरनेटले उद्धार टोली, स्वास्थ्यकर्मी तथा बेपत्ता आफन्तको खोजीमा संलग्न परिवारलाई सञ्चार सम्पर्क कायम राख्न महत्वपूर्ण सहयोग पुर्याउन सक्छ।
कम्पनीले नेपाल सरकार र सम्बन्धित मानवीय संस्थासँग समन्वय गरी आवश्यक क्षेत्रमा सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।