काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन पार्टीका सबै तह र निकायलाई निर्देशन दिएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि गठन गरिएको संयन्त्रमा आबद्ध नेताहरूसँग छलफल गर्दै लामिछानेले हालसम्म भइरहेको कामबारे जानकारी लिएका हुन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सभापति लामिछानेले पार्टीका तर्फबाट भइरहेको खोज, उद्धार र राहतको अवस्थाबारे ब्रिफिङ लिँदै आवश्यक समन्वय बढाएर प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन्।
उनले पार्टीका स्थानीय, जिल्ला तथा केन्द्रीय संयन्त्रबीच समन्वय गर्दै वास्तविक प्रभावितसम्म राहत पुर्याउने, उद्धारमा आवश्यक सहयोग गर्ने र फिल्डबाट प्राप्त जानकारी तत्काल सम्बन्धित निकायसम्म पुर्याउने कामलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायत तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ।
बाढीपछि विभिन्न क्षेत्रमा खोज तथा उद्धार जारी रहँदा राजनीतिक दल तथा तिनका संयन्त्रसमेत राहत संकलन, वितरण र प्रभावित क्षेत्रको समन्वयमा सक्रिय भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।