काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकटको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले देशका सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै सघन छलफल थालेका छन्।
प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोज, उद्धार, राहत तथा घाइतेहरूको व्यवस्थापनबारे विस्तृत ब्रिफिङ लिएका छन्।
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहले उद्धारका बाँकी सबै कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउन नेपाली सेनालाई निर्देशन दिएका छन्। प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारका काम बाँकी रहेकाले उपलब्ध जनशक्ति र स्रोतसाधन अधिकतम रूपमा परिचालन गर्न उनले जोड दिएका छन्।
प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढीपछिको अवस्था, उद्धार तथा राहत परिचालनबारे ब्रिफिङ लिने कार्यक्रम छ। त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै छुट्टै छलफल गर्ने तयारी गरिएको छ।
छलफलका क्रममा प्रधानमन्त्रीले बाढी प्रभावित नागरिकको जीवनरक्षा, घाइतेको निःशुल्क उपचार तथा राहत वितरणमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।
उनले सुरक्षा निकायलाई २४ सै घण्टा उच्च सतर्कतामा राख्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनलाई समन्वयात्मक रूपमा अघि बढाउनसमेत निर्देशन दिएका छन्।
भोटेकोशी बाढीपछि रसुवा र आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा प्रधानमन्त्रीले सुरक्षा संयन्त्रबाट प्रत्यक्ष ब्रिफिङ लिएर बाँकी उद्धार र राहत कार्यलाई थप तीव्र बनाउने प्रयास गरेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।