काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई बैंकिङ कारोबारमा सहजता दिन बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन दिएको छ।
रसुवा, नुवाकोटलगायत जिल्लामा आएको बाढीपहिरोका कारण धेरै नागरिकले चेकबुक, एटीएम कार्ड, मोबाइल फोन तथा परिचयपत्रसमेत गुमाएपछि राष्ट्र बैंकले वैकल्पिक पहिचानका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनेको हो।
बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको सूचनाअनुसार बैंकमा पहिले नै रहेको ग्राहकको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा पहिचान यकिन गरी आवश्यक बैंकिङ सेवा दिन सकिनेछ।
यस व्यवस्थाबाट विपद्का कारण आवश्यक कागजात तथा बैंकिङ उपकरण गुमाएका ग्राहकलाई आफ्नो खाताबाट रकम झिक्न तथा अन्य वित्तीय कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले विपद् प्रभावित क्षेत्रका लघुवित्त वित्तीय संस्थाका लागि पनि थप लचक व्यवस्था गरेको छ।
लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी ‘एकीकृत निर्देशन, २०८२’ संशोधन गर्दै विपद्का कारण भौतिक क्षति पुगेका वा कार्यालय सञ्चालन गर्न असुरक्षित बनेका शाखाले राष्ट्र बैंकको पूर्वस्वीकृति नलिई शाखा स्थानान्तरण गर्न वा नजिकैको अर्को शाखामा समायोजन गर्न सक्ने व्यवस्था गरिएको हो।
तर यस्तो शाखा स्थानान्तरण वा समायोजन गरिएको जानकारी भने सात दिनभित्र राष्ट्र बैंकलाई दिनुपर्नेछ।
यसअघि लघुवित्त संस्थाले शाखा सार्न वा अर्को शाखासँग समायोजन गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था थियो।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नियमित बैंकिङ तथा वित्तीय सेवा सञ्चालनमै समस्या देखिएपछि राष्ट्र बैंकले ग्राहकको नगद पहुँच र वित्तीय सेवा निरन्तर राख्ने उद्देश्यले यस्तो सहजीकरण गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।