काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवासहित भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै थापाले विपत्तिको समयमा सक्नेले राहत र सहयोगमा हातेमालो गर्न तथा सहयोग गर्न नसक्नेले कम्तीमा पीडितको मन दुख्ने गरी कटु टिप्पणी नगर्न आग्रह गरेका हुन्।
उनले भनेका छन्, ‘मेरो एउटा अनुरोध छ– सहयोग गर्न सक्ने सहयोगमा जुटौं। सहयोग गर्न सक्दैनौं भने पनि कम्तीमा कटु वचन कसैले नबोलौं।’
केही दिनअघि बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका थापाले प्रभावित क्षेत्रमा पुगेपछि मात्रै विपत्तिको वास्तविक भयावहता बुझ्न सकिने बताएका छन्।
उनका अनुसार बाहिरबाट हेर्दा अनुमान गरिएभन्दा प्रभावित क्षेत्रमा मानवीय र भौतिक क्षतिको अवस्था निकै गम्भीर छ। ठूलो संख्यामा घरबार उजाडिएको, परिवार विस्थापित भएको र नागरिकको दैनिक जीवन नै अस्तव्यस्त बनेको दृश्यले विपत्तिको वास्तविक आकार देखाएको उनले उल्लेख गरेका छन्।
‘यो यति ठूलो प्रलय र विपत्ति हो कि धेरै घरबार उजाडिएका छन्, धेरै परिवार प्रभावित भएका छन्। फिल्डमा पुगेपछि मात्रै त्यसको गहिराइ थाहा हुन्छ,’ थापाले भनेका छन्।
उनले विपत्तिको घडीमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा खोज, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा साझा प्रयास आवश्यक रहेको संकेत गरेका छन्। यस्तो समयमा सरकार, राजनीतिक दल, स्थानीय तह, प्रदेश सरकार, सामाजिक संघसंस्था र नागरिक सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
थापाले प्रभावित क्षेत्रमा स्थानीय तह र प्रदेश सरकारले गरिरहेको कामको प्रशंसा गर्दै भइरहेको प्रयासलाई अझ प्रभावकारी र समन्वयात्मक बनाउनुपर्ने बताएका छन्।
स्थलगत भ्रमणका क्रममा आफूहरूले प्रभावित नागरिकका गुनासा, खोज तथा उद्धारको अवस्था, राहत वितरण र आगामी पुनर्स्थापनाका चुनौतीसमेत नजिकबाट बुझेको उनले बताएका छन्।
नेपाली कांग्रेसले स्थलगत निरीक्षणबाट प्राप्त तथ्य र अनुभवका आधारमा विस्तृत प्रतिवेदन तयार गर्ने थापाले जानकारी दिएका छन्। उक्त प्रतिवेदनमा तत्काल सरकारले गर्नुपर्ने कामसँगै पुनर्स्थापना तथा पुनर्निर्माणको अर्को चरणमा अपनाउनुपर्ने उपायसमेत समेटिने उनको भनाइ छ।
थापाले अहिलेको प्राथमिकता विपत्तिबाट प्रभावित नागरिकलाई साथ दिनु भएको उल्लेख गर्दै संकटका बेला समाजमा निराशा, कटुता र विभाजनभन्दा सहकार्य र मानवीय संवेदनशीलता आवश्यक रहेको सन्देश दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।