काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास तीव्र पारिएको छ। पहिरो प्रभावित क्षेत्रमा सडक खुलाउन पहिलो चरणमा रुख कटानको काम सुरु गरिएको हो।
पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै किनाराबाट १८ जना जनशक्ति परिचालन गरी सडक क्षेत्रमा रहेका रुख हटाउन थालिएको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत सडकको दुवैतर्फ तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।
रुख कटानको काम सकिएलगत्तै एक्स्काभेटर तथा अन्य उपकरण परिचालन गरी पहिरो हटाउने र सडक आवागमन खुलाउने काम सुरु गरिनेछ।
मन्त्रालयले कृष्णभीरको अवरोध हटाउन सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ। राजधानी काठमाडौंलाई देशका विभिन्न भूभागसँग जोड्ने प्रमुख मार्गमध्ये पृथ्वी राजमार्ग महत्वपूर्ण भएकाले सकेसम्म छिटो आवागमन सहज बनाउने गरी जनशक्ति र उपकरण परिचालन गरिएको हो।
कृष्णभीर क्षेत्रमा सडक भासिएपछि काठमाडौं उपत्यकाको आपूर्ति शृङ्खलामा समेत गम्भीर असर परेको छ। खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासलगायतका वस्तुको नियमित ढुवानी प्रभावित भएको छ।
सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने तथा बाहिरिने यात्रुले पनि वैकल्पिक र लामो मार्ग प्रयोग गर्नुपरेको छ। यसबाट यात्रा समय र ढुवानी लागत दुवै बढेको छ।
मुख्य आपूर्ति मार्ग अवरुद्ध भएको मौकामा बजारमा केही अत्यावश्यक वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धिको जोखिमसमेत बढेको छ। सरकारले भने आपूर्ति व्यवस्थापन सहज बनाउन वैकल्पिक ढुवानी मार्ग र अन्य व्यवस्थासमेत प्रयोगमा ल्याइरहेको छ।
कृष्णभीरको सडक जतिसक्दो छिटो सञ्चालनमा आउनु राजधानीको आपूर्ति व्यवस्था सामान्य बनाउन र यात्रु आवागमन सहज बनाउन महत्वपूर्ण मानिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।