काठमाण्डौ । विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हवाङले नेपालका बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड अमेरिकी डलर सहयोग गरेका छन्।
हवाङले उपलब्ध गराएको सहयोग नेपाली मुद्रामा करिब डेढ अर्ब रुपैयाँबराबर हुन्छ। भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुनै एक विदेशी व्यक्ति वा व्यावसायिक नेतृत्वबाट प्राप्त भएको यो अहिलेसम्मकै ठूलो सहयोगमध्ये एक हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हवाङको अभूतपूर्व सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँ नाघेको जानकारी दिएका छन्।
‘१ करोड डलरको सहयोग। हार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया,’ अर्थमन्त्री वाग्लेले भनेका छन्, ‘यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।’
कृत्रिम बौद्धिकता (एआई) तथा सेमिकन्डक्टर उद्योगको विश्वव्यापी अगुवा कम्पनी एनभिडियाका सीईओ हवाङको सहयोगले नेपालको विपद् व्यवस्थापन अभियानमा अन्तर्राष्ट्रिय निजी क्षेत्रको सहभागितालाई नयाँ उचाइ दिएको छ। उनको सहयोगले खोज तथा उद्धार, पीडितको तत्काल राहत, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित परिवारको पुनर्स्थापनामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारको आह्वानमा स्वदेशी तथा विदेशी सरकार, दातृ निकाय, बैंक तथा वित्तीय संस्था, व्यावसायिक घराना र सर्वसाधारणले उद्धार कोषमा सहयोग गरिरहेका छन्। हवाङको ठूलो सहयोग थपिएसँगै कोषमा संकलित रकमले १० अर्ब रुपैयाँको सीमा पार गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।