काठमाण्डौ । नेपालका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणका लागि विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) जेन्सेन हुआङले १ करोड अमेरिकी डलर सहयोग गरेका छन्। करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बराबरको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित क्षेत्रमा परिचालन गरिने भएको छ।
रसुवाको भोटेकोशी जलाधार क्षेत्रलगायत बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, विस्थापितको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई लक्षित गरी हुआङले उक्त सहयोग उपलब्ध गराएका हुन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत हुआङको सहयोगको पुष्टि गर्दै नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरेका छन्। उनका अनुसार हुआङको योगदानले विपद्का बेला निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदायबाट थप सहयोग जुटाउन प्रेरणा दिनेछ।
अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियाको सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। सरकारले उक्त रकमलाई प्रभावित जिल्लामा तत्कालीन राहतमा मात्र सीमित नराखी विस्थापित परिवारको पुनर्स्थापना र दीर्घकालीन पूर्वाधार पुनर्निर्माणमा समेत प्रयोग गर्ने जनाएको छ।
रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढी तथा पहिरोले सडक, पुल, बस्ती र अन्य भौतिक संरचनामा क्षति पुर्याएका कारण पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ।
एनभिडिया विश्वकै अग्रणी प्रविधि कम्पनीमध्ये एक हो र हुआङ कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्। एआई र उच्च क्षमताको कम्प्युटिङ क्षेत्रमा एनभिडियाको बढ्दो प्रभावसँगै हुआङ विश्व प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तिका रूपमा स्थापित छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।