काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको छ।
दोस्रो चरणमा उद्धार गरिएका महर्जनलाई तत्काल काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको थियो। अस्पतालमा भर्ना गरिएका उनको सघन उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
सुरुङबाट सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। स्वास्थ्य स्थिर देखिए पनि थप परीक्षण तथा चिकित्सकीय निगरानीका लागि उनलाई पनि वीरेन्द्र सैनिक अस्पताल ल्याइँदै छ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञ सम्मिलित संयुक्त टोलीले शुक्रबार बिहान साह र महर्जनलाई सुरुङबाट उद्धार गरेको हो। बाढीका कारण सुरुङको प्रवेशमार्ग अवरुद्ध भएपछि उनीहरू लामो समयदेखि भित्र फसेका थिए।
आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंका भएपछि बाढी आएको दिनदेखि नै सुरक्षा निकाय र प्राविधिक टोलीले निरन्तर खोज तथा उद्धारको प्रयास गरिरहेका थिए। अत्यन्त कठिन भौगोलिक अवस्था, सुरुङभित्र जमेको लेदो तथा ढुंगाका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको थियो।
लामो प्रयासपछि दुई जनालाई जीवितै निकाल्न सफल भए पनि महर्जनको स्वास्थ्य अवस्था जटिल रहेकाले चिकित्सकको विशेष निगरानीमा राखिएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।