काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्को समयमा कृत्रिम तस्बिर र प्रविधिको सहारा लिएर लोकप्रियता कमाउने प्रयास नगर्न आग्रह गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै ओलीले विपद्को घडीमा प्रचारभन्दा उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
उनले बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा राजनीतिक वा व्यक्तिगत लोकप्रियताका लागि एआईको प्रयोग गरेर कृत्रिम दृश्य सिर्जना गर्नु उचित नहुने धारणा राखे।
ओलीका अनुसार अहिलेको मुख्य जिम्मेवारी पीडितसम्म राहत पुर्याउने, जोखिममा परेकाको उद्धार गर्ने तथा बाढी र पहिरोले पुरिएका संरचनाबाट धनमाल सुरक्षित रूपमा निकाल्ने हो।
उनले केही व्यक्तिले कृत्रिम दृश्य तयार गरी आफूलाई जनताको सेवामा सक्रिय देखाउन खोजिरहेको भन्दै त्यसप्रति असन्तुष्टि जनाए।
ओलीले भने, ‘हामी यतिबेला लोकप्रिय हुने होइन, पीडितको सेवामा लाग्ने हो। कृत्रिम फोटोहरू खडा गरेर प्रचार गर्ने समय यो होइन।’
उनले विपद्बाट हजारौँ मानिस प्रभावित भएको र ठूलो मात्रामा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको उल्लेख गर्दै सबै राजनीतिक दल, संस्था र नागरिकले उपलब्ध स्रोतसाधन राहत तथा पुनःस्थापनामा केन्द्रित गर्नुपर्ने बताए।
ओलीले प्रचारमुखी गतिविधिभन्दा सेवामुखी कामलाई प्राथमिकता दिन आग्रह गर्दै संकटको घडीमा वास्तविक कामबाट मात्रै पीडितलाई राहत पुग्ने बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।