काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरलाई एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको दुरुपयोग गरी बिगारेर सामाजिक सञ्जालमा फैलाइएको छ।
बाढी प्रभावित क्षेत्रमा उनीमाथि अमर्यादित व्यवहार भएको भन्दै गलामा जुत्ताको माला र अनुहारमा कालोमोसो दलिएको काल्पनिक तस्वीर भाइरल बनाइएको हो। यद्यपि, तथ्य जाँच (फ्याक्ट चेक) बाट उक्त तस्वीर पूर्ण रूपमा एआईद्वारा निर्मित र भ्रामक रहेको पुष्टि भइसकेको छ।
केही दिनअघि धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेर ओलीले उद्धार तथा राहत कार्यमा सरकारको सुस्तताप्रति चिन्ता जनाउँदै ध्यानाकर्षण गराउँदै गरेको भिडियो सार्वजनिक भएको थियो । उनको एक भारतीय सञ्चारमाध्यममा अन्तर्वार्ता सार्वजनिक भएसँगै 'Budda Magar' नामक प्रोफाइलबाट सुरु भएको उक्त भ्रामक सामग्री विभिन्न राजनीतिक दलका समर्थक समूह र पेजहरूमा नियतवश फैलाइएको देखिन्छ।
संवेदनहीन बन्दै सञ्जाल: अमर्यादित संस्कृतिको विस्तार
यो घटनाले पछिल्लो समय सामाजिक सञ्जालमा विचारको भिन्नता वा आलोचनाकै आधारमा व्यक्ति हत्या गर्ने, धम्क्याउने र अशोभनीय टिप्पणी गर्ने गलत प्रवृत्ति कति भयावह बन्दैछ भन्ने उजागर गरेको छ। प्राकृतिक विपत्तिमा सर्वस्व गुमाएका पीडितहरू समेत सञ्जालमा पोखिने यस्ता असंवेदनशील र गालीगलौजपूर्ण हर्कतबाट मर्माहत हुनुपरेको अवस्था छ।
सामाजिक सञ्जालमा मौलाउँदो यस प्रकारको साइबर अपराध र विकृतिबारे चौतर्फी चिन्ता व्यक्त भइरहेको छ। स्वयं प्रधानमन्त्री बालेन्द्र साहले यस्ता कार्यमा संलग्नहरूलाई 'अपराधी'को संज्ञा दिँदै कानुनी कारबाहीको चेतावनी दिइसक्दा पनि डिजिटल माध्यममा संयमता र अनुशासन कायम हुन सकेको छैन। राजनीतिक असहमतिलाई सभ्य तरिकाले व्यक्त गर्नुको साटो प्रविधिको दुरुपयोग गरी गरिने यस्ता चरित्रहत्याका प्रयासले समाजको नैतिक धरातल र डिजिटल साक्षरतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ।


प्रतिक्रिया
1 प्रतिक्रियाJ***
Yo kukur la jutta bhanda ni goli hanera mare hunthiyo jaile samma yo virus xa uhele samma desh runchha
19 दिन अगाडी