काठमाण्डौ । बाढी, पहिरो, भूकम्पलगायत विपत्का बेला जोखिममा रहेका नागरिकलाई समयमै सूचना पुर्याउन सरकारले मोबाइल नेटवर्कमा आधारित नयाँ चेतावनी प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणले ‘सेल ब्रोडकास्टिङ’ प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन्।
यस प्रणाली सञ्चालन भएपछि कुनै निश्चित क्षेत्रमा रहेका मोबाइल फोनमा सिमकार्ड प्रयोग नभए पनि आपत्कालीन सूचना एकैपटक पठाउन सकिनेछ। मोबाइल नेटवर्कको पहुँचभित्र रहेको र अन अवस्थामा रहेको मोबाइलमा चेतावनी सन्देश देखिने भएकाले विपत्को सूचना प्रवाहलाई अहिलेको एसएमएस प्रणालीभन्दा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्राधिकरणका अनुसार सेल ब्रोडकास्टिङका लागि छुट्टै कार्यदल बनाएर आवश्यक कार्यविधि तयार भइरहेको छ। कार्यदलले विगतका अध्ययन तथा प्रतिवेदनले दिएका सुझावलाई समेत समेटेर कार्यविधिलाई अन्तिम चरणमा पुर्याएको छ। बजेट र अन्य प्राविधिक विषय टुंगिएपछि कार्यान्वयन प्रक्रिया अघि बढाइने तयारी छ।
हाल विपदको पूर्वसूचना मुख्यतः एसएमएस लगायतका माध्यमबाट पठाइँदै आएको छ। तर एसएमएस निश्चित मोबाइल नम्बरमा पठाउनुपर्ने भएकाले ठूलो संख्यामा मानिसलाई एकैपटक सूचना दिन चुनौती हुने गरेको छ।
सेल ब्रोडकास्टिङमा भने व्यक्तिको मोबाइल नम्बर आवश्यक पर्दैन। मोबाइल टावरले आफ्नो कभरेज क्षेत्रमा रहेका मोबाइल उपकरणलाई पहिचान गरी तोकिएको क्षेत्रका सबै उपकरणमा एउटै सन्देश प्रसारण गर्न सक्छ।
यस प्रणालीको अर्को महत्वपूर्ण पक्ष भनेको नेटवर्कमा हुने अत्यधिक चापले समेत यसको सूचना प्रवाहमा ठूलो असर नपार्नु हो।
विपदका बेला एउटै क्षेत्रमा ठूलो संख्यामा मानिसले फोन गर्ने वा एसएमएस पठाउने अवस्था आउन सक्छ। त्यसले सामान्य दूरसञ्चार सेवा प्रभावित हुन सक्ने भए पनि सेल ब्रोडकास्टिङबाट चेतावनी सन्देश पठाउन सकिने व्यवस्था गरिनेछ।
सेल ब्रोडकास्टिङबाट प्राप्त सूचना सामान्य एसएमएस जस्तो मोबाइलको इनबक्समा गएर हराउने प्रकृतिको हुनेछैन। मोबाइलको स्क्रिनमा पप–अप वा आपत्कालीन अलर्टका रूपमा देखिने र प्रयोगकर्ताको ध्यानाकर्षण गराउने गरी प्रणाली विकास गरिनेछ।
आवश्यकताअनुसार भाइब्रसन, बिप साउन्ड वा अन्य चेतावनी संकेत प्रयोग गर्न सकिनेछ। यसले विपत्को सूचना नदेख्ने वा बेवास्ता गर्ने सम्भावना कम गर्ने अपेक्षा गरिएको छ।
तर प्रणालीको प्रभावकारिता मोबाइल नेटवर्कको पहुँचमा निर्भर हुनेछ। नेटवर्कको कभरेजभन्दा बाहिर रहेका मोबाइलमा भने यस्तो चेतावनी पुग्ने छैन। साथै मोबाइल सेट अन अवस्थामा हुनुपर्नेछ।
सरकारले सेल ब्रोडकास्टिङलाई केवल दूरसञ्चार प्रणालीका रूपमा नभई राष्ट्रिय आपत्कालीन सूचना प्रसारण संयन्त्रका रूपमा विकास गर्ने तयारी गरेको छ।
यसका लागि केन्द्रीय तहमा आवश्यक हार्डवेयर र सर्भर स्थापना गरी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, नेपाली सेना, नेपाल प्रहरीलगायत सम्बन्धित सरकारी तथा सुरक्षा निकायलाई प्रणालीमा जोड्ने योजना छ।
यसले बाढी, पहिरो, चट्याङ, भूकम्पजस्ता प्राकृतिक विपत्का सूचना मात्र नभई सुरक्षा संकट, युद्ध वा अन्य मानवीय आपत्कालीन अवस्थाका सूचनासमेत तत्काल प्रवाह गर्न सकिनेछ।
सरकारको योजना मोबाइलमा मात्र सीमित छैन। भविष्यमा रेडियो तथा टेलिभिजनलाई समेत यही प्रणालीसँग जोडेर आपत्कालीन अवस्थामा चलिरहेको कार्यक्रमलाई रोक्दै आपत्कालीन चेतावनी प्रसारण गर्न सकिने व्यवस्था विकास गर्ने तयारी छ।
यसबाट विपत्को सूचना प्रवाहलाई मोबाइल, रेडियो र टेलिभिजनलगायत विभिन्न सञ्चार माध्यममा एकीकृत गर्न सकिनेछ।
सेल ब्रोडकास्टिङ प्रणाली स्थापनाका लागि प्रारम्भिक रूपमा कम्तीमा १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रणाली डेडिकेटेड हार्डवेयरमा आधारित बनाउने वा क्लाउड प्रविधि प्रयोग गर्ने भन्ने विषयले वास्तविक लागत निर्धारण गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।