Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 01:19:06
Bizshala
Global IME Bank Limited

प्रसारण लाइनको तार छोएर गम्भीर घाइते ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३.८१ लाख क्षतिपूर्ति

प्रसारण लाइनको तार छोएर गम्भीर घाइते ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३.८१ लाख क्षतिपूर्ति
New Office

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भएकी सुर्खेतकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधाराकी रश्मीलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

कोटधारामा महेन्द्र राजमार्गअन्तर्गत निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार जोखिमपूर्ण रूपमा नजिक परेको थियो। सोही क्षेत्रका टीकाराम जैसीकी ८ वर्षीया छोरी रश्मी नुहाएर घर फर्कने क्रममा उक्त तारको सम्पर्कमा पुग्दा गम्भीर घाइते भएकी थिइन्।

दुर्घटनापछि विभिन्न अस्पतालमा उनको उपचार गरिएको थियो। दुर्घटनाका कारण उनी पूर्ण अंगभंगको अवस्थामा पुगेको प्राधिकरणको मेडिकल बोर्डले पुष्टि गरेको छ।

उनको उपचारमा कुल ३ लाख ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो। यसअघि प्राधिकरणले उपचार प्रयोजनका लागि ३ लाख रुपैयाँ पेश्की उपलब्ध गराइसकेको थियो।

नेपाल विद्युत् प्राधिकरणको प्रचलित दुर्घटना क्षतिपूर्ति व्यवस्थाअनुसार उपचार खर्चसहित कुल १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत स्वीकृत भएको हो। यसमध्ये यसअघि उपलब्ध गराइएको ३ लाख रुपैयाँ पेश्की कट्टा गरी अब रश्मीलाई बाँकी १० लाख ८१ हजार ३७२ रुपैयाँ भुक्तानी गरिनेछ।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार नेपाल विद्युत् प्राधिकरण दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ अनुसार गठित समितिको सिफारिसका आधारमा क्षतिपूर्ति स्वीकृत गरिएको हो।

इलाका प्रहरी कार्यालय बवियाचौरको सर्जिमिन मुचुल्का, पञ्चपुरी नगरपालिकाको सिफारिस, उपचारसम्बन्धी बिल तथा प्रेस्क्रिप्सन र प्राधिकरणको मेडिकल बोर्डको २०८३ साउन २१ गतेको निर्णयका आधारमा रश्मी पूर्ण अंगभंग भएको पुष्टि भएपछि सञ्चालक समितिले क्षतिपूर्ति रकम स्वीकृत गरेको शाहीले जानकारी दिए।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

करेन्ट लागेर घाइते कर्मचारीलाई १९.७८ लाख

यसैबीच, नेपाल विद्युत् प्राधिकरणले कार्यक्षेत्रमा प्रसारण लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका आफ्नै कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मेलम्ची वितरण केन्द्रअन्तर्गत कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगरलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार मगर २०८२ चैत ११ गते मेलम्ची नगरपालिका–१० आम्बोटेमा प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा करेन्ट लागेर दुर्घटनामा परेका थिए।

दुर्घटनापछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। उनको उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार मगरलाई १० लाख रुपैयाँ क्षतिपूर्ति तथा ९ लाख ७८ हजार ३०१ रुपैयाँ उपचार खर्च गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।

मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन्। अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउने निर्णय सञ्चालक समितिले गरेको सदस्य शाहीले बताए।

एकै बैठकबाट सर्वसाधारण बालिका र कार्यक्षेत्रमा दुर्घटनामा परेका कर्मचारी गरी दुई जनालाई कुल ३३ लाख ५९ हजार ६७३ रुपैयाँ क्षतिपूर्ति तथा राहत स्वीकृत गरिएको हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.