आईतवार, भाद्र २८,२०८३ 04:08:35
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 04:08:35
Bizshala
Global IME Bank Limited

हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, मध्यपूर्वको उर्जा आपूर्तिमा थप जोखिम

हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, मध्यपूर्वको उर्जा आपूर्तिमा थप जोखिम
New Office

काठमाण्डौ । इरानसँग जोडिएका क्षेत्रीय तनावबीच हर्मुज जलमार्गमा एउटा जहाजमाथि आक्रमण भएको नयाँ रिपोर्ट सार्वजनिक भएको छ। आक्रमणपछि जहाजमा आगलागी हुँदा स्थानीय अधिकारीहरूले चालक दलका सदस्यलाई उद्धार गरेको बेलायती नौसेनासँग सम्बद्ध संस्था यूके मेरिटाइम ट्रेड अपरेसन्सले जनाएको छ।

युकेएटीओका अनुसार आइतबार जलमार्ग हुँदै अघि बढिरहेको जहाजमा एउटा प्रक्षेप्य वस्तु प्रहार भएको रिपोर्ट प्राप्त भएको थियो। आक्रमणपछि जहाजमा आगलागी भएको र स्थानीय अधिकारीहरूले चालक दललाई सुरक्षित रूपमा बाहिर निकालेका थिए।

यो घटना साउदी अरबले इराकबाट उत्पत्ति भएको भनिएको ड्रोन आक्रमणपछि आफ्नो महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको भोलिपल्ट सार्वजनिक भएको हो। इरानसमर्थित सशस्त्र समूहहरूको उपस्थिति रहेको इराकबाट ड्रोन आएको दाबी बगदाद र रियाद दुवैले गरेका छन्।

मध्यपूर्वमा युद्धको दायरा विस्तार हुँदै जाँदा विश्व ऊर्जा आपूर्तिमा थप दबाब पर्ने चिन्ता बढेको छ। पछिल्लो एक सातामै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

साउदी अरबको करिब १,२०० किलोमिटर लामो ईस्ट–वेस्ट पाइपलाइन पछिल्लो छ महिनादेखि मध्यपूर्वको तेललाई विश्व बजारतर्फ पठाउने प्रमुख मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। हर्मुज जमार्ग युद्धका कारण ठूलो मात्रामा अवरुद्ध भएपछि उक्त पाइपलाइनमार्फत दैनिक करिब ४० लाखदेखि ५० लाख ब्यारेल तेल ढुवानी भइरहेको थियो।

यो परिमाण विश्वव्यापी तेल आपूर्तिको करिब ४ देखि ५ प्रतिशत हो। पाइपलाइन सञ्चालनमा रहँदा खाडी क्षेत्रका अन्य तेल तथा ग्यास निर्यातकर्ताले भोगेको आपूर्ति अवरोधको तुलनामा साउदी अरबमाथिको दबाब केही कम भएको थियो।

पाइपलाइनमाथिको आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन। स्याटेलाइट तस्बिरमा मदिनाको दक्षिणी क्षेत्रमा रहेको पाइपलाइन आसपासबाट कालो धुवाँ उठिरहेको देखिएको बताइएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै भौतिक क्षति भएको र त्यसको प्रभावबारे मूल्यांकन भइरहेको साउदी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आक्रमणमा इरानको सम्भावित संलग्नता रहेको बताएका छन्।

यसैबीच, साउदी नागरिक सुरक्षा निकायका अनुसार शनिबार हुथी विद्रोहीले प्रहार गरेको प्रक्षेप्य वस्तु जजान क्षेत्रमा खस्दा दुई जना घाइते भएका छन्। घटनामा मस्जिदसहित केही भवनमा क्षति पुगेको बताइएको छ।

इरानी सरकारी सञ्चारमाध्यमले पनि आइतबार बिहान इरानको दक्षिणी तट नजिकै एउटा व्यावसायिक जहाजमा आक्रमण हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको जनाएको छ।

यमनको हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले आइतबार साउदी अरबले यमनको दक्षिणपश्चिमी ताइजनजिकै अल–रुबाइ क्षेत्रमा तीनवटा हवाई आक्रमण गरेको दाबी गरेको छ। साउदी पक्षबाट भने यसको तत्काल आधिकारिक पुष्टि भएको छैन।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

हुथी समूहले यसअघि पछिल्लो ४८ घण्टामा साउदी अरबले १२९ वटा हवाई आक्रमण गरेको दाबी गरेको थियो।

यसैबीच, साउदी युवराज तथा वास्तविक शासक मोहम्मद बिन सलमानले हुथीविरुद्धको संघर्षमा अमेरिकी सैन्य सहयोग मागेको बताइएको छ। युवराजले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग फोनवार्ता गर्दै सैन्य सहयोग मागेका थिए। अमेरिकाले तत्काल प्रत्यक्ष रूपमा युद्धमा सहभागी नहुने तर गुप्तचर सूचनामा सहयोग गर्ने बताइएको छ ।

ट्रम्पले शनिबार आफूले साउदी युवराजसँग कुराकानी गरेको पुष्टि गर्दै हुथीहरूले पनि अमेरिकी प्रशासनसँग सम्पर्क गरी वासिङ्टनलाई प्रत्यक्ष रूपमा द्वन्द्वमा नआउन आग्रह गरेको बताएका छन्।

यमेन सरकारका चार स्रोतले हुथीहरूले शुक्रबार बाब अल–मन्देब जलडमरुको बीचमा रहेको रणनीतिक पेरिम टापु कब्जामा लिएको दाबी गरेका छन्। लाल सागरको दक्षिणी प्रवेशद्वारमा रहेको उक्त जलमार्ग विश्वव्यापी तेल तथा व्यापारिक ढुवानीका लागि महत्वपूर्ण मानिन्छ।

अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्ने विषयमा जुन महिनामा भएको सहमति केही सातामै विफल भएपछि दुई देशबीच थप वार्ता हुन सकेको छैन।

इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजिजीले शनिबार सामाजिक सञ्जालमार्फत अमेरिकाले इरानका सबै सर्त स्वीकार नगरेसम्म वार्ता प्रभावकारी नहुने बताएका छन्।

यसैबीच, इरानको विदेश मन्त्रालयले सोमबार ओमानमा खाडी अरब राष्ट्रहरूसँग हुने बैठकमा सहभागी हुने जनाएको छ। बैठकमा हर्मुज जलमार्गको भविष्य लगायतका विषयमा छलफल हुने बताइएको छ।

तर एक वरिष्ठ इरानी अधिकारीले बैठकबाट तत्काल कुनै महत्वपूर्ण सम्झौता हुने सम्भावना कम रहेको बताएका छन्। उनका अनुसार ओमानको पहलमा हुन लागेको बैठकमा हर्मुज जलडमरु लगायत विभिन्न विषयमा छलफल हुनेछ, तर हस्ताक्षरित सम्झौता हुने अपेक्षा गरिएको छैन।

इरान र ओमानबीच जलडमरु हुँदै जहाज आवागमनका मार्गसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने भए पनि इरानले अमेरिकासमक्ष राखेका सातवटा सर्त पूरा नभएसम्म हर्मुज पुनः पूर्ण रूपमा नखुल्ने दाबी इरानी समाचार संस्था तस्निमले स्रोत उद्धृत गर्दै जनाएको छ।

इरानले हर्मुज जलमार्गमाथि आफ्नो नियन्त्रणलाई मान्यता दिनुपर्ने र जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउन पाउनुपर्ने माग गरेको बताइएको छ। अमेरिकाले भने यस्तो माग अस्वीकार गर्दै आएको छ। ओमानले हर्मुजको अर्को किनार नियन्त्रण गर्ने भएकाले क्षेत्रीय अन्य मुलुकको सहमतिमा वार्ता अघि बढाइरहेको जनाएको छ।

युद्ध सुरु हुनुअघि हर्मुज जलमार्ग हुँदै जहाजलाई स्वतन्त्र र खुला रूपमा आवतजावत गर्न दिइँदै आएको थियो। पछिल्ला आक्रमण र बढ्दो क्षेत्रीय तनावले भने विश्वव्यापी तेल आपूर्ति र ऊर्जा बजारमा थप अनिश्चितता निम्त्याएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.