काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज मङ्गलबार अपराह्न १ बजे बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकका लागि विभिन्न विषय समेटिएको सम्भावित कार्यसूची तय गरिएको छ।
बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यसैबीच, आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकसमेत बस्दैछ।
प्रतिनिधिसभाको बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरका साथै अन्तर्राष्ट्रिय विधायिकी संस्थासँग सम्बन्धित प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।