काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा र फिनटेक क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति अघि सारेको छ।
केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आर्थिक वर्ष २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन हुने गरी ‘डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीति’ तयार गरेको हो।
रणनीतिको मुख्य लक्ष्य नेपालमा सुरक्षित, भरपर्दो, समावेशी र नवप्रवर्तनमुखी डिजिटल वित्तीय वातावरण निर्माण गर्नु रहेको छ।
राष्ट्र बैंकका अनुसार आगामी पाँच वर्षमा फिनटेक पूर्वाधार विस्तार, प्रभावकारी नियमन, डिजिटल वित्तीय पहुँच वृद्धि र फिनटेक प्रणालीको समग्र विकासमा जोड दिइनेछ।
रणनीतिले डिजिटल वित्तीय सेवाको प्रयोग बढाउँदै त्यसलाई दिगो आर्थिक विकाससँग जोड्ने लक्ष्य राखेको छ।
तीन मुख्य स्तम्भ
राष्ट्र बैंकले फिनटेक रणनीतिलाई तीन प्रमुख स्तम्भमा विभाजन गरेको छ।
पहिलो, डिजिटल तथा फिनटेक पूर्वाधारको विकास।
दोस्रो, नीति, नियमन र सुशासन।
तेस्रो, समग्र फिनटेक इकोसिस्टमको विकास।
यसअन्तर्गत नियमन र सुपरीवेक्षण प्रक्रियालाई प्रविधिमैत्री र क्रमशः स्वचालित बनाउने योजना राखिएको छ।
फिनटेक व्यवसायीलाई समान अवसर उपलब्ध गराउने, सुरक्षित डिजिटल वित्तीय सेवा सुनिश्चित गर्ने तथा नवप्रवर्तनलाई नियामकीय संरचनाभित्र प्रोत्साहन गर्ने रणनीतिको उद्देश्य रहेको छ।
फिनटेकमैत्री कानुनी संरचना बनाउने
राष्ट्र बैंकले फिनटेकमैत्री कानुनी तथा नियामक संरचना विकास गर्ने योजना पनि अघि सारेको छ।
बजारमा प्रवेश गर्ने फिनटेक कम्पनीहरूलाई स्पष्ट नियम, समान प्रतिस्पर्धाको वातावरण तथा ग्राहक संरक्षणको सुनिश्चितता दिने रणनीतिमा उल्लेख छ।
डिजिटल वित्तीय क्षेत्रमा तीव्र गतिमा नयाँ प्रविधि भित्रिरहेकाले नियमनलाई समेत समयअनुकूल बनाउँदै लैजानुपर्ने राष्ट्र बैंकको निष्कर्ष छ।
नयाँ वित्तीय उत्पादनलाई प्रोत्साहन
रणनीतिले नयाँ तथा परिष्कृत वित्तीय उत्पादन र सेवाको विकासलाई पनि प्राथमिकतामा राखेको छ।
नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, डिजिटल वित्तीय सेवाको लागत घटाउने, सेवा पहुँच विस्तार गर्ने र बजारमा प्रतिस्पर्धा बढाउने लक्ष्य राखिएको छ।
साथै ग्राहकको डिजिटल वित्तीय साक्षरता बढाउने र डिजिटल सेवाको सुरक्षित प्रयोगबारे सशक्तिकरण गर्ने विषयलाई पनि रणनीतिले महत्त्व दिएको छ।
नियामक निकाय, बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी र अन्य सरोकारवालाबीच समन्वय र सहकार्यलाई पनि रणनीतिको महत्वपूर्ण पक्ष मानिएको छ।
महिला, युवा र ग्रामीण क्षेत्र प्राथमिकतामा
राष्ट्र बैंकको फिनटेक रणनीतिले वित्तीय सेवाबाट अपेक्षाकृत कम लाभ पाइरहेका वर्गलाई विशेष प्राथमिकता दिएको छ।
महिला, बालबालिका, युवा, साना तथा मझौला उद्यमी, ग्रामीण क्षेत्रका बासिन्दा, गिग अर्थतन्त्रमा संलग्न व्यक्ति, फिनटेक कम्पनी र डिजिटल वित्तीय सेवा प्रयोगकर्तालाई लक्षित समूहका रूपमा राखिएको छ।
यसले डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई विस्तार गर्ने लक्ष्य राखेको छ।
डिजिटल अर्थतन्त्र विस्तारको आधार
राष्ट्र बैंकले पाँच वर्षे रणनीतिमार्फत डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तार गर्दै वित्तीय प्रणालीलाई थप आधुनिक बनाउने लक्ष्य लिएको छ।
प्रभावकारी नियमन, सुरक्षित डिजिटल पूर्वाधार, नवप्रवर्तन र समावेशी पहुँचलाई सँगसँगै अघि बढाउन सके आगामी पाँच वर्ष नेपालको फिनटेक क्षेत्रका लागि निर्णायक बन्न सक्ने देखिन्छ।
राष्ट्र बैंकको यो रणनीतिले परम्परागत बैंकिङ प्रणालीलाई डिजिटल वित्तीय इकोसिस्टमसँग अझ नजिक ल्याउँदै नेपालको डिजिटल अर्थतन्त्र विस्तारका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।