काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खाना पकाउने एलपी ग्यासको अभाव व्यवस्थापन गर्न नसकेको भन्दै सरकारमाथि कडा आलोचना गरेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले वर्तमान सरकार ग्यास वितरणसमेत व्यवस्थित गर्न नसकेर लाचार बनेको आरोप लगाइन्।
उनले अहिले देखिएको ग्यास अभावले विशेषगरी दैनिक ज्यालादारीमा काम गर्ने, मजदुर, विद्यार्थी, अपांगता भएका व्यक्ति तथा न्यून आय भएका परिवारलाई सबैभन्दा बढी प्रभावित बनाएको बताइन्।
अर्यालले ग्यास अभावका कारण सर्वसाधारणले महँगो मूल्यमा सिलिन्डर किन्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
“अहिलेको ग्यास अभाव सरकारलाई सामान्य लाग्न सक्छ,” उनले भनिन्, “तर एउटा मात्र सिलिन्डर हुने र त्यही साटेर दैनिकी चलाउने परिवारका लागि यो ठूलो संकट हो।”
उनले सरकारसँग ग्यास अभावबाट प्रत्यक्ष प्रभावित परिवारको वास्तविक तथ्यांकसमेत छ कि छैन भन्ने प्रश्न उठाइन्।
अर्यालका अनुसार निम्न आय भएका अधिकांश परिवारसँग वैकल्पिक रूपमा विद्युतीय चुल्हो प्रयोग गर्ने सुविधा छैन। त्यसैले ग्यास अभाव उनीहरूका लागि दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको समस्या बनेको छ।
“काम छाडेर ग्यास खोज्न जाने कि काम गर्न जाने ?” उनले प्रश्न गरिन्।
उनले ग्यासको कृत्रिम अभाव सिर्जना भएको आरोप लगाउँदै यसले दैनिक श्रममा निर्भर ठूलो जनसंख्यालाई आक्रान्त बनाएको बताइन्।
अर्यालले ग्यास नपाएको घटनासँग जोडेर एक व्यक्तिले खोलामा हाम फालेको प्रसंगसमेत संसदमा उठाउँदै आपूर्ति व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरिन्।
उनले बजारमा ग्यास अभाव, महँगो बिक्री र कमजोर वितरण प्रणालीबारे सरकार तत्काल गम्भीर बन्नुपर्ने मागसमेत गरेकी छन्।
पछिल्लो समय काठमाडौंसहित विभिन्न क्षेत्रमा ग्यास अभाव चर्किएको र सर्वसाधारण सिलिन्डर खोज्दै पसल तथा डिपो धाउन बाध्य भइरहेको अवस्थामा यो विषय संसदमा समेत तीव्र रूपमा उठ्न थालेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।