काठमाण्डौ । लामो समयदेखि ग्यास अभाव झेलिरहेका काठमाण्डौ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि पुरानै मूल्यमा एलपी ग्यास पाउने भएका छन्। उपत्यकामा ग्यासका बुलेट भित्रिन थालेसँगै आपूर्ति सहज हुने र प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बिक्री हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसका अवसरमा बुधबार काठमाण्डौमा आयोजित छलफल कार्यक्रममा संघका अध्यक्ष दिवान चन्दले उपत्यकामा ग्यासका बुलेट आउन थालेकाले बिहीबारदेखि नै पुरानो मूल्यमा ग्यास उपलब्ध हुने जानकारी दिए ।
यसअघि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि तराईका प्लान्टबाट साना सवारीसाधनमार्फत ग्यास ल्याउनुपर्दा ढुवानी लागत बढेको भन्दै उद्योगीले मूल्य बढाएका थिए। त्यस क्रममा प्रतिसिलिन्डर १०५.३८ रुपैयाँ थपिएर ग्यासको मूल्य २ हजार १६५.३८ रुपैयाँ पुगेको थियो।
अब मुख्य मार्गबाट ग्यासका बुलेट आउन थालेसँगै अतिरिक्त ढुवानी लागत घट्ने भएकाले पुरानै मूल्य कायम गर्न लागिएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाण्डौ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुन्छ। अहिले पनि सोही हाराहारीमा ग्यास आयात भइरहे पनि लामो समयको अभावका कारण उपभोक्ताले एकैपटक बढी परिमाणमा ग्यास खोज्दा बजारमा दबाब कायमै रहेको संघका अध्यक्ष चन्दले बताए ।
नेपाल आयल निगमका एलपी ग्यास विभाग प्रमुख विनितमणि उपाध्यायका अनुसार सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट साना गाडीमा ग्यास ल्याउनुपरेकाले पर्याप्त परिमाणमा आपूर्ति गर्न कठिन भएको थियो। अब बुलेट आउन थालेकाले आपूर्ति क्रमशः सहज हुने उनको भनाइ छ।
एउटा ग्यास बुलेटमा करिब १ हजार २५० सिलिन्डर ग्यास आउने गर्छ।
निगमका अनुसार कृष्णभिरबाट मंगलबार छ वटा ग्यास बुलेट पार भएका थिए भने बुधबार २५ वटा बुलेट पार भएका छन्। अधिकांश ग्यास उद्योग धादिङमा रहेकाले मुख्य सडकमार्गबाट बुलेट आउन थालेपछि उद्योगबाट रिफिलिङ गरी उपत्यकामा आपूर्ति बढाउन सहज हुने निगमको भनाइ छ।
नेपालले हाल मासिक करिब ५० हजार मेट्रिक टन ग्यास प्राप्त गर्दै आएकोमा त्यसलाई बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी पुर्याउन कूटनीतिक पहल भइरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।