काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने नीतिअनुसार स्वदेशमै सीप, रोजगारी र उद्यमका अवसर विस्तार गर्ने अभियानलाई तीव्र बनाएको छ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’ लाई कार्यान्वयनमा लैजान सरकारले चरणबद्ध कार्यक्रम अघि बढाएको हो।
युवा जनशक्तिको ऊर्जा, सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्ने लक्ष्यअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालयले असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सात दिने सीप तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको छ।
मेलामार्फत सीप भएका युवालाई रोजगारदातासँग जोड्ने, आवश्यक सीप अभाव भएका युवालाई तालिम तथा अवसरबारे जानकारी दिने र रोजगारी तथा उद्यमशीलताका सम्भावना पहिचान गर्ने उद्देश्य राखिएको छ।
सरकारले यो अभियान इटहरीमा मात्रै सीमित नराखी देशभर विस्तार गर्ने तयारीसमेत गरेको छ। त्यसका लागि मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी कार्यान्वयन प्रक्रिया अघि बढाइसकेको छ।
सरकारको दीर्घकालीन लक्ष्य स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी युवालाई सामान्य जीविकोपार्जनकै लागि विदेशिनुपर्ने बाध्यता घटाउनु हो।
‘रोजगार प्रवर्द्धन दशक’अन्तर्गत सीप विकास, रोजगारदाता–कामदार जोड्ने संयन्त्र, निजी क्षेत्रसँगको सहकार्य तथा प्रदेश र स्थानीय तहसम्म रोजगार कार्यक्रम विस्तार गर्ने सरकारको तयारी छ।
इटहरीबाट सुरु हुन लागेको सात दिने मेला यही अभियानको प्रारम्भिक कार्यान्वयनमध्ये एक मानिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।